काठमाडौँ । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा काठमाडौंको टुकुचा खसी बजारबाट आठ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्री तथा पाठीको मासु खसीको मासु भन्दै बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको हो ।
प्रहरीले जाँचका क्रममा आठ जनालाई करिब ५६७ किलो बाख्रीको मासु दुईवटा सवारीसाधनमा लोड गर्दै गरेको अवस्थामा फेला पारेको जनाएको छ । उक्त मासु भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीमा लोड भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई काठमाडौंको टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा रहेका छन् ।
त्यस्तै, धादिङको गजुरी गाउँपालिका–१ घर भई काठमाडौंको बागबजार बस्ने २६ वर्षीय सनम तामाङ, सोही ठाउँका २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ घर भई काठमाडौंको पुतलीसडक बस्ने २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई काठमाडौंको मैजुबाहाल बस्ने २५ वर्षीय दिनेश महत पक्राउ परेका छन् ।
पक्राउ परेका आठै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया