नेकपा सरकार संघीयता समाप्त पार्ने षड्यन्त्रमाः अध्यक्ष यादव
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्वको सरकार मुलुकवाट संघीयता र गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
नेपाल बौद्धिक पेशाकर्मी महासंघले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘नेपालको बर्तमान राजनीति सन्दर्भ’ विषयक अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष यादवले मुलुकलाई धरासाही बनाउन सरकार उद्धत रहेको आरोप लगाए ।
सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले समेत ओली गणतन्त्र समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै प्रतिवेदन पेश गरेकाले पनि यो कुरा प्रष्ट भएको उनको जिकिर छ । अध्यक्ष यादवले विभिन्न कालखण्डमा व्यवस्थाहरू परिवर्तन भए पनि शासक वर्ग परिवर्तन हुन नसकेकाले उपलब्धिहरू गुम्ने खतरा बढेको बताए । संरचनागत विभेदलाई निरन्तता दिने उद्देश्यले नै पहिचानविहीन सात प्रदेश बनाइएको समेत उनको आरोप छ ।
उनले मधेश जनविद्रोहवाट प्राप्त उपलव्धिहरु संस्थागत हुन्छ भने एकात्मक प्रणाली समाप्त हुने डरले विगतदेखि सत्तासुखमा रमिएकाहरु चरैतिरवाट कसरी यसलाई समाप्त गरु प्रपञ्च रचि रहेको उनको भनाई थियो ।
कार्यक्रममा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूलाई व्यवस्थापन गर्न सबै दल चुकेको टिप्पणी गरे । उनले संघीय सरकारद्वारा निर्मित प्रतिकुल अवस्थामा समेत काम गरेको भन्दै प्रदेश २ सरकारको प्रशंसा गरे ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बौद्धिक वर्गका सल्लाह सुझाव लिएर अघि बढ्ने आश्वासन दिए । उनले कर्मचारीतन्त्रबाट असहयोग गराउँदै आएको संघीय सरकारले पछिल्लो समय कानुनहरू नै बनाएर प्रदेश सरकारका अधिकारहरू कटौती गर्न थालेको आरोप समेत लगाए । उनले संघ सरकारका संघीयता विरोधी गतिविधिलाई परास्त गर्न आफूहरूले कानुनी लडाईं लड्दै आएका पनि स्मरण गराए ।