सम्झौताको मर्मविपरीत छानबिन समिति गठन भएको भन्दै डा. केसीको आपत्ति, फेरि आन्दोलन गर्ने चेतावनी


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग भएको सहमतिविपरीत छानबिन समिति गठन गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले समितिको गठन प्रक्रिया र कार्यक्षेत्र तत्काल नसच्याए पुनः सत्याग्रहसहितका आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

बुधबार विज्ञप्ति जारी गरी डा. केसीले गत कात्तिक २१ गते सरकारसँग भएको सहमतिको १८ दिनपछि शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिको कार्यक्षेत्र सहमतिको मर्म र उद्देश्यभन्दा फरक रहेको बताएका हुन् ।

सरकारले चिकित्सा शिक्षाका विज्ञलाई समितिमा समावेश नगरेको र समिति गठन गर्न झण्डै तीन साता लगाएर एक सातामात्र कार्यावधि तोकेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

सहमतिको बुँदा नम्बर १ मा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा सिट निर्धारण र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सिट वृद्धि गर्दा निर्धारित मापदण्ड पालना भए÷नभएको छानबिन गर्ने उल्लेख छ ।
त्यस्तै, मापदण्ड उल्लङ्घन वा स्वार्थको द्वन्द्व देखिएमा संलग्न पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने र छानबिन प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने सहमति भएको थियो ।

तर, मन्त्रालयले गठन गरेको समितिलाई सम्बन्धित संस्थाको स्थलगत अनुगमन गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्षम भए÷नभएको मूल्याङ्कन गर्ने जिम्मेवारी मात्र दिइएको केसीको भनाइ छ । यसले निर्णय प्रक्रिया, मापदण्डको पालना, स्वार्थको द्वन्द्व र जिम्मेवार पदाधिकारीको जवाफदेहितासम्बन्धी विषयलाई समेट्न नसकेको उनले बताएका छन् ।

आफूहरूको माग कुनै व्यक्ति वा संस्थालाई पूर्वाग्रहपूर्ण ढङ्गले दोषी ठहर गर्नु नभई निर्णय प्रक्रियाको निष्पक्ष छानबिन र जिम्मेवार पदाधिकारीको जवाफदेहिता सुनिश्चित गर्नु रहेको केसीले स्पष्ट पारेका छन् ।

यसैगरी, सहमतिको बुँदा नम्बर ४ अनुसार गठित सहमति कार्यान्वयन अनुगमन कार्यदलको बैठकमा सदस्यहरू डा. बद्री रिजाल, विजयबाबु शिवाकोटी र डा. अमृत जैसीलाई सहभागी नगराइएको भन्दै उनले आपत्ति जनाएका छन् ।

सम्झौताका सबै बुँदा अक्षरशः कार्यान्वयन गर्न सरकारसँग माग गर्दै केसीले अन्यथा सत्याग्रहलगायतका आन्दोलन सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुने उनको भनाइ छ ।

प्रेस विज्ञप्ति
विषय: छानबिन समितिको गठन र तोकिएको कार्यक्षेत्र सहमतिको मर्म विपरीत भएकाले सच्याउन माग ।

आदरणीय दिदीबहिनी, दाजुभाइ तथा पत्रकार मित्रहरू,
हामीले गरेको २५औँ सत्याग्रहको क्रममा नेपाल सरकारसँग गत कार्तिक २१ गते भएको सहमतिको १८ दिनपछि बुँदा नं. १ कार्यान्वयन गर्ने क्रममा शिक्षा तथा खेलकुद मन्त्रालयबाट गठित समितिको गठन र कार्यक्षेत्र सहमतिमा उल्लिखित विषय र उद्देश्यभन्दा फरक देखिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सहमतिको कार्यान्वयनमा आलटाल गर्ने र सहमतिबाट सरकारको गैर जिम्मेवार विचलनप्रति हाम्रो गम्भीर आपत्ति छ। समिति गठन गर्नका लागि सरकारी पक्षबाट माग भए बमोजिम हामीले सिफारिस गरेका चिकित्सा शिक्षाका विज्ञहरुलाई नसमेटिएको र गठन गर्न आलटाल गरेर झण्डै ३ हप्ता बिताउने तर कार्यावधि एक हप्ता मात्र दिनुले पनि सरकारको गैरजिम्मेवारीपन स्पष्ट भएकोछ।

सहमतिको बुँदा नं. १ मा चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा सिट निर्धारण र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा MBBS सिट वृद्धि गर्दा निर्धारित मापदण्ड पालना भए/नभएको छानबिन गर्ने, मापदण्ड उल्लङ्घन वा स्वार्थको द्वन्द्व भएको पाइएमा संलग्न पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने तथा प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने स्पष्ट उल्लेख छ। तर, शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा आज गठित समितिलाई संस्थाहरूको स्थलगत अनुगमन गरी कार्यक्रम सञ्चालन गर्न सक्षम भए/नभएको मूल्याङ्कन गर्ने कार्यक्षेत्र दिइएको छ। यसले सहमतिमा उल्लिखित निर्णय प्रक्रिया, मापदण्डको पालना, स्वार्थको द्वन्द्व र जिम्मेवार पदाधिकारीको जबाफदेहितामाथिको छानबिनलाई समेटेको छैन।

सहमति एउटा विषयमा गर्ने तर कार्यान्वयनका क्रममा त्यसको विषय र कार्यक्षेत्र नै बदल्ने कार्य स्वीकार्य हुँदैन। संस्थाको सञ्चालन क्षमता परीक्षण गर्नु र निर्णय प्रक्रिया तथा मापदण्ड उल्लङ्घनको छानबिन गर्नु फरक विषय हुन्। स्थलगत अनुगमन छानबिनको एउटा माध्यम हुन सक्छ, तर सहमतिले तोकेको मूल उद्देश्यको विकल्प बन्न सक्दैन।

हाम्रो माग कुनै व्यक्ति वा संस्थालाई पूर्वाग्रहपूर्ण ढङ्गले दोषी ठहर गर्नु होइन। हाम्रो माग निर्णय प्रक्रियाको निष्पक्ष छानबिन, मापदण्डको पूर्ण पालना, स्वार्थको द्वन्द्वको पहिचान तथा जिम्मेवार पदाधिकारीको जवाफदेहिता सुनिश्चित गर्नु हो।

अतः सहमतिको बुँदा नं. १ अनुरूप समितिको गठन र कार्यक्षेत्र तत्काल सच्याउन, सहमतिमा उल्लेखित विषयमा निष्पक्ष र पूर्ण छानबिन गर्न तथा छानबिनका सिफारिस इमानदारीपूर्वक कार्यान्वयन गर्न नेपाल सरकारसँग माग गर्दछौँ।

यसै क्रममा, सहमतिको बॅुदा ४ बमोजिम गठित सहमति कार्यान्वयन अनुगमन कार्यदलको हिजो बसेको बैठकमा कार्यदलका सदस्यहरु डा. बद्री रिजाल, श्री विजय बाबु शिवाकोटी र डा. अमृत जैसीलाई सहभागी नगराइएकोमा हाम्रो गम्भीर विमति छ र यसबाट सरकारी पक्षको बदनियत छर्लङ्ग भएको छ। 

सहमति सरकारको प्रतिबद्धता हुनुपर्ने हो औपचारिकता मात्र होइन। सहमति अक्षरशः कार्यान्वयन हुनुको विकल्प छैन। सहमतिलाई कमजोर बनाउने वा मूल उद्देश्यबाट विचलित गर्ने कार्य स्वीकार्य छैन। साथै हामीसँग भएका सहमतिका अन्य वुँदाहरू पनि तुरुन्त कार्यान्वयन गर्न आव्हान गरिन्छ।
‌
अन्यथा सत्याग्रह लगायतका आन्दोलन शसुरु गर्न बाध्य हुनेछौँ र त्यसबाट सिर्जित विषम परिस्थितिको जिम्मेवार सरकार आफैँ हुनेछ।
प्रा. डा. गोविन्द के.सी.
काठमाडौं
मिति: २०८३ मंसिर ८ गते