आफ्नो टोलीलाई चोलेन्द्रलाई भेट्न नदिएको घटनाबारे आयोगले थाल्यो छानबिन


काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा भेट्न नदिएको घटनाबारे प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासँग बयान लिने भएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख खड्कालाई आयोगले मंगलबार उपस्थित हुन पत्र पठाएको हो ।
जबरालाई हिरासतमा राखिएको अवस्थाबारे अनुगमन गर्न आइतबार टेकु पुगेको आयोगको टोलीले भेटघाट गर्न नपाएपछि घटनाबारे जानकारी लिन प्रहरी अधिकारीलाई बोलाएको हो ।

आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली जबराको मानवअधिकारको अवस्था बुझ्न कार्यालय पुगेको थियो । तर, कार्यालयले प्रवेश अनुमति नदिएपछि टोलीले जबरालाई भेट्न पाएन ।
आयोगको टोली करिब ४५ मिनेट कार्यालयको गेटमा कुरेर फर्किएको थियो ।

हिरासतमा रहेका व्यक्तिको मानवअधिकारको अवस्था अनुगमन गर्ने क्रममा भएको घटनाबारे आवश्यक जानकारी लिन खड्कालाई बोलाइएको आयोगले जनाएको छ ।