हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता


गोरखा । मनाङको नार्पाभूमिस्थित हिमलुङ हिमपहिरोमा परेर गोरखाका दुई जना बेपत्ता भएका छन् । हिमलुङ आधार शिविरमा क्याम्प निर्माण गर्ने क्रममा हिमपहिरो आएपछि जिल्लाको धार्चे गाउँपालिका–२ केरौँजाका दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजुकुमार क्षेष्ठले जानकारी दिए ।

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पर्वतारोहीको सहयोगीका रूपमा हिमलुङ आधार शिविर पुगेका धार्चे–२ केरौँजाका वीरेन्द्र गुरुङ र आशबहादुर गुरुङ शनिबारदेखि सम्पर्कविहीन रहेका जानकारी दिए । आइतबार बिहान हिमलुङ आधार शिविरको हिमपहिरोमा बेपत्ता भएका दुवै जनाको खोजी कार्यलाई तीव्रता दिन परिवार तथा आफन्तहरूले आग्रह गरेका छन् ।

करिब ३२ वर्षका वीरेन्द्र हिमालयन होलिडेज कम्पनीका बेसक्याप सहयोगीका रूपमा र ४५ वर्षका आशबहादुर इम्याजिन नेपाल एक्पिडिसन प्रालिबाट गाइड तथा कुकम्यानको कामका लागि त्यसतर्फ गएका थिए । “आशबहादुर र वीरेन्द्रको घरमा अहिले रुवावासी छ”, पीडित परिवारका अर्जुन गुरुङले भने, “वीरेन्द्रको बुवा, श्रीमती, एउटा तीन चार वर्षको र अर्को पाँच छ वर्षको छोरा छन् । आशबहादुरको श्रीमती र छोराछोरी काठमाडौँमा छन् । घरमा बुढी आमा हुनुहुन्छ ।”

दुवै जनासंँगै हिमलुङ आधार शिविरको हिमपहिरोमा १६ जना बेपत्ता भएका प्रहरी नायब उपरीक्षक क्षेष्ठले जानकारी दिए । उनका अनुसार बेपत्तामध्ये दुई जनाको शव फेला परेर सनाखत भइसकेको छ । तर उनीहरूको अहिलेसम्म अत्तोपत्तो छैन ।

समुद्री सतहबाट चार हजार ८७५ मिटर अग्लो आधार शिविरमा हराएकाहरुको खोजी कार्यका लागि नेपाल राष्ट्रिय पथप्रदर्शक संघ र पर्वतारोहण सञ्चालक सङ्घबाट १४ जनाको उद्धार टोली खटिएका छन् । घटनाका बेला भागेर ज्यान बचाएका १४ जनाको टोली फू बाट आधार शिविरतर्फ गएका पर्वतारोहण पथप्रदर्शक सङ्घका अध्यक्ष तुल्सिङ गुरुङले जानकारी दिए । “अहिले मौसम खुलेर खोजतलास गर्न सजिलो भएको छ”, उनले भने, “हिउँ धेरै बाक्लो रहेकाले खोजी कार्य गर्न धेरै समय लाग्छ सक्छ ।”