केपी ओलीसँगको गोप्य भेटवार्ताबारे देउवासँग मागे केन्द्रीय सदस्यहरुले जवाफ
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री परिवर्तन गर्ने वा नगर्ने, पार्टी बिभाजन गर्ने वा नगर्ने भन्ने बिषय नेकपाको आन्तरिक बिषय भएको भन्दै नेकपाको घर झगडामा सहभागी नहुने स्पष्ट पारेको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकका बारेमा जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसंग भेटेको बिषय उठेको भन्दैं नेकपाको एकता र विभाजन उनीहरुको घरायसी कुरा भएको र कांग्रेसको कुनै भूमिका नरहने बताएका हुन् ।
उनले नेकपाको घर झगडालाई प्रतिपक्षीका नाताले नजिकबाट हेरिरहेको बताए । प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको जानकारी सभापति देउवाले बैठकमा गराउनुभएको जानकारी दिए । प्रवक्ता शर्माले संसद अधिवेशन अन्त्य गर्नुभन्दा एकदिन अघिमात्र भेट भएको र संसद अधिवेशन अन्त्य गर्ने बिषयमा समेत प्रधानमन्त्रीले जानकारी नगराउनुभएको बताए ।
बैठकमा केही केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भएको गोप्य भेटबारे जवाफ मागेका थिए । त्यस्तै बैठकमा कांग्रेसको महाधिवशेनको कार्यतालिका हेरफेर गर्ने बारेमा पनि छलफल केन्द्रित रहेको प्रवक्ता शर्माले जानकारी दिए ।