काठमाडौं । एमाले केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पेश नगर्ने अध्यक्ष केपी ओलीले जानकारी दिएका छन् ।
ओलीले कार्यदलको प्रतिवेदन आफ्नै प्रतिवेदनमा समाहित भएको घोषणा गरेका छन् । उनले बैठकमा कार्यदलको प्रतिवेदन ढिला आएको भन्दै त्यसलाई आफ्नो प्रतिवेदनले नै समेटेको बताएका हुन् ।
‘पुनर्गठन कार्यदलको प्रतिवेदन पार्टीको सम्पत्ति भइसक्यो । त्यसलाई सम्पत्तिको रूपमा राख्ने निर्णय भएको छ,’ ओलीले बैठकमा भने, ‘त्यसलाई समेत ध्यानमा राखेर अध्यक्षको प्रतिवेदन तयार भयो ।’
कार्यदलका लागि महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनको प्रतिवेदन तयार गरे पनि ओलीको निर्देशनमा संयोजक रहेका उपाध्यक्ष रामबहादुर थापाले अर्को प्रतिवेदन ल्याएका थिए । आइतबार मात्र कार्यदलले साझा प्रतिवेदनमा सहमति जुटाएको थियो । ओलीले त्यसलाई पार्टीको सम्पत्ति मान्ने बताएका छन् ।
ओलीले कार्यदलले प्रतिवेदन बुझाउन ढिलाइ भएको कारणले पार्टी बैठक बस्न ढिलाइ भएको तर्क गरेका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टीलाई नयाँ गति कसरी दिन सकिन्छ भन्ने कुरामा छलफल गर्नको लागि कार्यदल बनाएको उनले बताए ।
कमजोरीको समीक्षा, पुस्तान्तरण, पार्टीलाई नयाँ गतिजस्ता विषयलाई हेर्दै कार्यदल बने पनि त्यसले समयमा काम गर्न नसकेको ओलीको आरोप छ । ‘कमी कमजोरी कहाँ भए, यसको समीक्षा गर्न, पुस्तान्तराण के हो रु पार्टीलाई नयाँ गति र जीवन दिन सकिनेमा कार्यदल बन्यो । कार्यदल कति उपयुक्त थियो । यो समीक्षाकै विषय छ । तर, त्यसमा विलम्ब भयो । १ महिनामा भनेको ४ महिना बित्यो,’ ओलीले भने, ‘कार्यदलको बैठक सकिएन । प्रतिवेदन तयार भएन । त्यसैले कार्यदल र सचिवालयको बैठक बस्न सकेन । त्यसले केन्द्रीय कमिटी बैठकलाई विलम्ब गर्यो ।’
ओलीले केन्द्रीय कमिटी बैठकमा मोबाइल प्रयोग गरी फोटो तथा भिडियो खिच्न र लाइभ गर्न नपाइने निर्देशन जारी गरेका छन्। उनले बैठकलाई मर्यादित बनाउन यस्तो व्यवस्था गरिएको बताए।
बैठकमा बोल्न अध्यक्षको अनुमति लिनुपर्ने र बैठक छाड्दा पनि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। केन्द्रीय सदस्यलाई बोल्न तीन मिनेटको समय दिइएको छ।

प्रतिक्रिया