काठमाडौंको त्रिपुरेश्वर र बालाजुमा बसमा आगलागी


काठमाडौं । काठमाडौंका दुई ठाउँमा छुट्टाछुट्टै समयमा बसमा आगलागी भएको छ । त्रिपुरेश्वरमा अहिले मध्यान्ह र बालाजुमा आइतबार राति १० बजे आगलागी भएको हो ।

त्रिपुरेश्वर चोकको बस स्टप अगाडि बसमा आगलागी भएको काठमाडौं प्रहरीले जनाएको छ । ऋिद्धसिद्धि यातायातको बसमा आगो लागेको हो । तर के कारणले आगलागी भएको नखुलेको प्रहरीको भनाइ छ ।

बसमा चालक र सहचालक मात्र थिए । दुवै जना घाइते भएका कारण उद्धार गरेर अस्पताल लगिएको छ । क्षतिको विवरण पनि नआइसकेको प्रहरीले जनाएको छ ।

काठमाडौँको बालाजुमा भने पार्किङमा राखिएको बसमा आगलागी भएको हो । आगलागीमा परी चालक र सहचालक घाइते भएका छन्।

आइतबार राति पौने १० बजेतिर बालाजु बुद्ध मलपछाडि करिडोरमा पार्किङ गरेर राखिएको नारायणी यातायातको बसमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। घाइते हुनेमा धादिङको ज्वालामुखी गाँउपालिकाका सुरेश अर्याल र नीलकण्ठ गाउँपालिकाका राजेश परियार छन्।

अर्याल चालक र परियार सहचालक हुन् । बसमा आगलागी हुँदा उनीहरू बसभित्रै थिए । उनीहरूलाई जनमैत्री अस्पताल बालाजुमा सामान्य उपचारपछि राति नै कीर्तिपुर बर्न अस्पताल लगिएको छ ।

बसमा लागेको आगो बालाजु औद्योगिक क्षेत्र र टोखा नगरपालिकाको दमकल, स्थानियवासी र प्रहरीको सहयोग सवा १० बजे नियन्त्रणमा लिइएको थियो।

आगलागीको कारण खुलेको छैन। घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।