भारत–पाकिस्तान युद्धविराम गराएर ट्रम्पले आफूलाई गरे शान्ति स्थापकका रूपमा प्रस्तुत
बीबीसी । दक्षिण एशियाका दुई प्रतिद्वन्द्वी मुलुक भारत र पाकिस्तान पूर्णस्तरको सैन्य द्वन्द्वमा फस्नबाट फेरि एक पटक जोगिएका छन् । यी दुईबीच युद्धविराम गराउन फेरि एक पटक संयुक्त राज्य अमेरिकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको देखिएको छ । भारत र पाकिस्तानले आआफ्ना शिविरमा आफूले हात पारेको उपलब्धि र बेहोरेको हानिको लेखाजोखा गर्लान् नै । तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वमा आफूलाई शान्तिस्थापकका रूपमा प्रस्तुत गर्ने छन् । अनि उनका विदेशमन्त्री मार्को रुबिओले भारत–पाकिस्तानबीचको युद्धविराम आफ्नो सबैभन्दा ठूलो कूटनीतिक सफलता भएको दाबी गर्न पाउने छन् ।
पाकिस्तानी सेनाले पाकिस्तानी जनतालाई आफूले कसरी ‘भारतको आक्रामकता’लाई निस्तेज पार्न सम्भव भयो भनेर बताउन सक्छ । पूरै पाकिस्तानले सेनालाई समर्थन गरेका थियो। त्यसैले यो एक किसिमले पाकिस्तानको सेनाका लागि पनि विजय हो । दुई वर्षअघि पाकिस्तानमा सत्ताच्युत प्रधानमन्त्री इमरान खानका समर्थकहरूले सेनाविरुद्ध शृङ्खलाबद्ध प्रदर्शन गरेका थिए ।
पाकिस्तानसँग परमाणुअस्त्र भए पनि भारतले आफूले ‘आतङ्ककारीहरूका संरचना’ भन्दै आएका पाकिस्तानस्थित संरचनाहरूमा धावा बोल्न नहिचकिचाएको दाबी फेरि पनि गर्न सक्छ । दिल्लीले भारत विभाजित बनेर बनेको पाकिस्तानको हवाई शक्तिलाई सजिलै परास्त गर्न नसकिने अनि नयाँ अस्त्रका लागि अर्बौँ रुपैयाँ खर्च गरेको भए पनि आफूले खोजे जसरी निर्णायक प्रहार गर्न नसकेको महसुस गरेको हुनुपर्छ ।