डिभोर्सः रोक्न सकिन्छ !
डा. गोविन्दशरण उपाध्याय ।
आर्थिक वर्ष २०२३–२४ मा काठमाडौं जिल्ला अदालतमा सरदर दिनुहुँ १३ वटा (वर्षमा ४१८३) पारपाचुकेका मुद्दाहरू परेका छन् र फर्स्यौट भएका छन् । नेपालमा सबैभन्दा बढी जनसंख्या भएको र शिक्षितहरू भएको मानिने काठमान्डौ नेपालमा सबैभन्दा बढी पारपाचुके हुने जिल्ला पनि हो । भक्तपुर्, ललितपुर, कास्की र बिराटनगरको पनि कुनै राम्रो रिकर्ड छैन । गतवर्ष नेपाल भरी करिव ४९ हजार दम्पतिले पारपाचुके पाएका थिए । यो सबै नेपाली दम्पतिहरूका विचमा बढ्दो अविश्वास, आर्थिक समस्या, पारिवारिक कलह, समझदारीको अभाव, विवाहेतर शारीरिक सम्बन्धआदिका सूचक हुन् ।
उपर्युक्त सूचकहरूले नेपाली दम्पतिका लागि आपत्कालीन सहयोगको आवश्यकता प्रष्ट पार्छ । केही अधिकारीवादीहरूले उपर्युक्त पारपाचुकेलाई ‘नारीहरूको आर्थिकस्तर उठेको’ भनेर टिप्पणी गरे पनि पारिवारिक बिखन्डनको पीडा सबैलाई हुन्छ । पीडक र पीडित यी दुई पक्षको ठीकठीक अनुसन्धान गर्ने काम प्रहरी प्रशासनको हो तर अनुसन्धानले टुटीसकेको परिवारलाई जोड्न सक्दैन । दम्पतिहरू छुट्टिएका कारणले ‘बाबुआमा हुँदाहुँदै टुहुरा बन्न पुगेका बालबालिका’लाई कसैले क्षतिपूर्ति दिन सक्दैन । पश्चिमाहरूमा संस्कृति नै बनिसकेको पारपाचुकेले तेहाका बालबालिका कति पिडित छन् भन्ने कुरा भनिसाध्य छैन ।
पारपाचुकेका धेरै आयामहरू छन् । मानसिक, शारीरिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकरूपमा भोग्नु पर्ने समस्याहरूको कुनै लेखाजोखा नै छैन । शारीरिक सम्बन्धको आकर्षणमा परेर कुरकुरे बैंसमा भागी–विवाह गर्ने होउन् वा भर्खरै विवाह गरेर वैदेशिक रोजगारमा पलायन गर्ने युवायुवती होउन् वा आफ्नो धर्म, संस्कृति तथा परम्परालाई लत्याएर ‘लिभिग टुगेदर’को माखेसाङ्ग्लोमा पारेर नै किन नहोस्–विश्वव्यापी अनुसन्धानहरूले पारपाचुकेका प्रमुख कारकहरूका रूपमा यिनै विषयहरूलाई जिम्मेदार ठानेको छ । जे–जसरी परिवार विखण्डन अवस्थामा पुगे पनि पीडित त पीडित नै हो । पीडितले सही उपचार प्राप्त गर्नुपर्छ । साथै, परिवार विखण्डन हुने पूर्वकारणहरूको पहिचान गरेर त्यसमा काम हुनुपर्छ । सत्य यही हो ।
नेपालमा पारचुकेको संस्कृतिलाई प्रवर्धन गर्नमा आइएजिओ र इसाई मिसनरिज तथा तथाकथित मोडर्निस्टको बढी हात छ । मेरो व्यक्तिगत जानकारीमा पनि आफ्नो घरवार विगारेका एकलकाटेहरू आइएनजीओ/एनजीओअन्तर्गत जेन्डर–इक्वालिटीको नेतृत्व गर्छन् । आर्थिक स्वतन्त्रता, शारीरिक स्वतन्त्रता र युरोपेली प्रतिमानको पारिवारिक संरचनाको चाहनाका कारण यस्ता आइएनजीओ/एनजीओ कर्मीहरूले (सबै होइन) महिला र पुरुषका विचमा अनेकौं खोटहरू खोजेर द्वन्दलाई उक्साउने गर्छन् । धेरैजसो मामिलामा पुरुषहरूलाई दोषी देखाएर रमाउँछन् ्र पतिपत्नीको सम्बन्ध अधिकार, प्रतिकार, द्वन्द्वले होइन परस्पर विश्वास र परस्पर सम्मानले चल्छ ।
नेपालको परम्परागत पारिवारिक सिस्टम पूर्णछ भन्नु उचित हुँदैन तर नेपाली संस्कृतिले सकेसम्म एक पटक विवाह गरेका दम्पतिको दाम्पत्य जीवन मृत्यु पर्यन्त जीवन्त र सहयोगी रहोस् भन्ने कुरामा जोड दिन्छ । युरोपेली वा अब्रह्मिक संस्कारमा पतिपत्नीको सम्बन्ध केवल ‘करारनामा’ भएको हुँदा कुनै पनि लोग्नेस्वास्नीले आफ्नो दाम्पत्य जीवन मृत्यु पर्यन्त चल्छ भन्ने कुराको कल्पना समेत गर्दैन । अधिकारजस्तो महत्वपूर्ण शब्दलाई दुरुपयोग गरेर लोग्नेका विरुद्ध स्वास्नी र स्वास्नीका विरुद्ध लोग्नेलाई उभ्याएर पारिवारिक कलह र डिभोर्स गर्न प्रेरित गर्ने तत्वहरूसंग प्रष्ट रूपमा असहमति व्यक्त गर्नुपर्छ र आवश्यक परेको बेला तिनको प्रतिकार पनि गर्नुपर्छ । आफ्नो घरवार भत्कियो भन्दैमा अर्काको घर भत्काउन उक्साउने मानसिकताउपर प्रहार गर्नुपर्छ, त्यो पनि सरकारीस्तरबाट नै । यसको अर्थ, आजीवन दुःख सहेर दाम्पत्य जीवन जोगाउनु पर्छ भन्ने होइन । संगै बस्नै नसक्ने अवस्थामा छुट्टिनुनै उचित हुन्छ ।
दिगो दाम्पत्य जीवन सबैभन्दा महत्वपूर्ण पक्ष भनेको पतिपत्नीका विचमा आपसी विश्वास नै हो । लोग्नेले स्वास्नी र स्वास्नीले लोग्नेउपर विश्वास गर्ने आधारहरूलाई आधुनिकता र टेक्नोलोजीको प्रयोगले निकै कमजोर बनाएको छ । साथै, विगतका तुलनामा आर्थिकस्तर उठेकाले लोग्ने होस् वा स्वास्नी दूवैमा शरीरको भोक बढेको छ । शारीरिक आवश्यकतालाई (सेक्स) महत्व दिंदा परिवारहरू भत्किन्छन् भने विना कारण परपुरुष वा स्त्रीसंग शारीरिक सम्बन्ध रहेको शङ्काले पनि लंका जलाउने गर्छ । त्यसैले पतिपत्नीका बीचमा निरन्तर संवाद र आफ्नो मनलाई गलाएर अन्यसँगको शारीरिक सम्बन्धको न्यानोपन खोज्ने मानसिकतालाई नियन्त्रण गर्नुपर्छ । नेपाली समाजमा पोइला जाने र जोइला बस्ने दूबै चलनहरूको बढ्दो सङ्ख्याले विदेशमा रहेका पत्नीपत्नीका विचमा धेरै शंकालु मानसिकता सृजना गरेको छ । पतिपत्नी एकआपसमा सम्बादमा रहंदा र एकअर्कालाई पूर्णसम्मान गर्दासम्म शङ्का र धोका यी दुई शब्दले जीवनमा प्रवेश पाउन्नन् । मिडियाका चटपटे खवर सुनेर आफ्नी पत्नी वा पतिउपर शङ्का गर्नु हुँदैन ।
डिभोर्स नेपाली संस्कृतिको अंग होइन तर जीवननै खतरामा राखेर दाम्पत्य जीवन निर्वाह गर्नु पनि उचित होइन । उदाहरणका लागि दिनहुँ शारीरिक यातना दिने, अपमानित गर्ने, शारीरिक शोषण गर्ने तथा मानसिक हिंसा गर्ने पतिसँग जीवनभरी सँगै विताउनु पर्छ भन्ने मूर्खतापूर्ण मान्यता राख्नु गलत हो भने पतिपत्नीका विचमा भएको सामान्य मतभेदलाई घृणावादी अधिकारवादको तराजुमा तौलिएर पारिवारिक मतभेदलाई मनभेदमा रुपान्तरित गर्दै पतिपत्नीलाई शत्रु बनाउने चिन्तन पनि अस्वीकार्य हो । पतिपत्नीका विचमा सामान्य भनाभन हुनु, मतभेद हुनु अत्यन्त सामान्य घटना हुन् । हातमा लगाएका चूराहरू बज्ने गर्छन् र त्यो आवाजनै आकर्षण र प्रेमको एउटा माध्यम बन्ने गर्छ । वैदिक संस्कृतिले सामान्य मतभेदलाई ‘चुराहरूको सुन्दर ध्वनि’ मान्छ भने घृणावादी अधिकारवादले बज्ने चुरालाई फोरेर फाल्ने र गहना विहिन भएर एक्लै रमाउने (दुःखी हुने) वकालत गर्छ। त्यसैले पतिपत्नी आफैं सचेत भएर एकले अर्कालाई अधिकतम सम्मान र विश्वास गर्ने अभ्यास गर्नु पर्छ ।
जेजस्तो कारणले पतिपत्नीका विचमा डिभोर्स भए पनि दुवैका लागि यो दुःखद अनुभव हुन्छ । खासगरी डिभोर्स गरेका दम्पतिबाट जन्मिएका बालबालिकाका लागि त कालरात्रि नै हुन्छ । अनि, डिभोर्सजन्य मानसिक पीडा र त्यसले निम्त्याएको दुःख पूर्व वा पश्चिमा हुँदैन । वैदिक वा अवैदिक हुँदैन । जसरी पनि त्यसले मान्छेलाई नकारात्मक असर परिरहेको हुन्छ । पहिलो कुरा त वैदिक, अवैदिक, नास्तिक, आस्तिक, पूर्वीय वा पाश्चात्य सबैले दाम्पत्य जीवनलाई सुखी, खुसी र दीर्घकालीन बनाउने मौलिक जग निर्माण गर्नेतिर ध्यान दिनुपर्छ । त्यसपछि दाम्पत्य जीवनमा पर्ने समस्याहरू आफैं सुल्झाउन सक्ने सीप दम्पतिहरूलाई सिकाउने शिक्षानीति वा परामर्शको व्यबस्था गरिनु पर्छ र यदि कसैको सम्वन्ध जोडिनै नसकिने गरी विग्रिसकेको छ भने त्यस्तो सम्बन्धलाई सुरक्षित अवतरण गर्न/गराउन सहयोग गर्ने मध्यस्थकर्ताको निर्माण गर्नुपर्छ भने अन्त्यमा, डिभोर्स भएर मानसिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक समस्यामा परेका महिला वा पुरुष तथा बालबालिकालाई सामान्यीकरण गर्न मानसिक परामर्शसहित अन्य सहयोगको व्यबस्था गरिनुपर्छ । तर यी सबै कुरा गरिरहंदा डिभोर्सचाहिं अन्तिम रोजाई हुनुपर्ने मानसिकता पनि निर्माण गर्नुपर्छ । घृणावादको सहारामा आफै डिभोर्स गरेकाबाट परिवार जोड्ने परामर्श प्राप्त हुँदैन तर जसले दाम्पत्यको महत्व बुझ्दाबुझ्दै पनि डिभोर्स गर्न बाध्य भएका छन्, तिनले परिवार र दाम्पत्यको महत्व बुझेका हुन्छन् । ती बाट व्यबहारिक सहयोग प्राप्त गर्न सकिन्छ ।
–डिभोर्सका धेरै कारण हुन्छन् तर दाम्पत्यजीवनलाई डिभोर्सबाट जोगाउन र कुनै कारणले फाटेको मनलाई जोड्ने पनि अनेकौं उपायहरू हुन्छन् । ती उपायहरू मध्ये पहिलो उपाय एकले अर्काको कुरा राम्ररी सुन्नु र परिवेशलाई बुझ्नु हो । दोस्रो, एकले अर्कालाई अधिकतम विश्वास गर्नु हो । तेस्रो, एकले अर्कालाई अधिकतम सम्मान गर्नु र आत्मीयभाव राख्नु हो । चौथो, क्षमा गर्नु हो । उदाहरणका लागि पति वा पत्नीले एकआपसमा अत्याधिक माया गर्छन् तर कुनै आकर्षणमा परेर अर्कोसंग “सल्किने“ अवस्था भयो । यस विषयमा सम्बन्धित व्यक्तिले आफ्नो भूल पनि महशुस गरेको छ भने पति वा पत्नीले पति वा पत्नीलाई उदारतापूर्वक क्षमा गर्न सक्नुपर्छ । गल्ती गर्नु हुँदैन तर गल्ती भैहाल्यो भने त्यसलाई भित्रैदेखि स्वीकार गर्ने व्यक्तिलाई दोषीको नजरले नबुझ्ने प्रयन्त गर्नुपर्छ । पाँचौं, आर्थिक कारोवारका सवालमा सधैं पतिपत्नीका विचमा सरसल्लाह हुनैपर्छ । छैठौं, यौनजन्य क्रियाकलाप गर्दा एकले अर्काको सहमति लिनुपर्छ । सहमति विना गरिने यौनकार्य बलत्कारसरह नै हुन्छ । सातौं, परिवारको हेरविचारका सवालमा एकआपसमा सहमति बनाएर आ–आफ्नो कर्तव्य निर्वाह गर्नु उचित हुन्छ । अन्त्यमा, यदि एकअर्काको मनमा एकअर्काप्रति अविश्वास वा शङ्काको भावना बढेको छ भने एकआपसमा खुलेर कुरा गर्नुपर्छ र आवश्यता परे घरका बृद्धजनहरूबाट सहयोग लिनुपर्छ अथवा दाम्पत्य परामर्शदाताको सेवा प्राप्त गर्नुपर्छ । सुखी दाम्पत्यजीवन सबैको चाहना हुनुपर्छ र डिभोर्स कसैको चाहना हुनुहुँदैन । हामी सबैले बुझ्नुपर्छः डिभोर्स सबैभन्दा नरुचाइने पाहुनासरह हो जसले दाम्पत्य जीवन अन्त्य मात्रै गर्दैन अपितु प्रेमका सम्पूर्ण धागाहरूमा असंख्य अविविश्वासका गाँठाहरू लगाएर जीवनमा वितन्डा गर्छ ।