‘मध्यरातमा चुच्चे नक्शा, गोयलको पोल्टामा चढाएको मैले होइन’


मैले होइन !

मध्यरातमा चुच्चे नक्शा
गोयलको पोल्टामा चढाएको मैले होइन

कात्रोमा खल्ती ‘हाल्दिन भन्दै भन्दै हाल्नु’ भनेर
ट्यूशन पढाएको मैले होइन

खरानी बेच्न आफ्नै घर जलाएको मैले होइन
दुई तिहाइको धरहरा ढलाएको मैले होइन

संविधानको धाराको टुटी भाँचेर अधिकार
शीतलनिवासको धाराबाट खसाएको मैले होइन

संसदको शरीरमा पेट्रोल छर्केर
दुई दुई चोटी आगो लाएको मैले होइन

मान्छेहरु मलाई ‘तैंले प्रधानमन्त्री खाइस’ भन्छन्
प्रतिगमनले हो प्रधानमन्त्री खाएको, मैले होइन !!

अर्जुन पराजुली