दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्रीले गर्ने


सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन साहले गर्ने भएका छन् । आगामी  १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री साहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले शनिबार कर्णाली प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा उद्घाटन कार्यक्रम र प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नेपाल सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कानुनमन्त्री सोविता गौतम र महिला, बालबालिकामन्त्री सीता वादी सहभागी थिए ।

प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै सुरु भइसकेका छन् । मंसिर ८ गतेदेखि विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन भइरहेका छन् । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन् ।
३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार पौडी र शारीरिक सुगठनसहितका खेलबाट ६६ पदकको टुंगो लाग्नेछ ।