नेपाल फुटबल लिग खेल्ने १० वटा टोलीको लाग्यो टुंगो


काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ क्लब थपिएसँगै प्रतियोगितामा सहभागी हुने १० वटै क्लबको टुंगो लागेको छ । शिक्षामन्त्री सस्मित पोखरेलले नेपाली फुटबलका लागि यो महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपाली फुटबल लिगमा तीन नयाँ क्लब थपिएपछि सात प्रदेशका १० सहर जोडिने बताएका हुन् । निजी क्षेत्रको सहकार्यमा अघि बढिरहेको लिगले नेपाली फुटबललाई व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउन नयाँ आधार तयार गर्ने उनको विश्वास छ ।

एनपीएलको सफलतापछि दशौं राष्ट्रिय खेलकुदको उत्साह चलिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली खेलकुदमा देखिएको ऊर्जा फुटबलमा पनि विस्तार गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार केही दिनअघि थाइल्यान्डमा फिफा र एएफसीका नेतृत्वसँग नेपाली फुटबलको भविष्य, संरचनागत सुधार र विकासबारे सकारात्मक छलफल भएको थियो । उनले एन्फामाथिको प्रतिबन्ध पनि छिट्टै फुक्ने विश्वास व्यक्त गरेका छन् ।

‘एन्फामाथिको प्रतिबन्ध पनि छिटै फुक्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका छन् ।नेपाली फुटबललाई व्यवस्थित र व्यावसायिक बनाउने प्रयासमा अन्तर्राष्ट्रिय फुटबल जगतको चासो र सहयोगले थप उत्साह जगाएको पनि उनले उल्लेख गरेका छन् ।

निजी क्षेत्रको सहकार्यमा नेपाल फुटबल लिग अघि बढ्दै गर्दा सरकारले सञ्चालन गर्ने सहिद स्मारक लिगलाई पनि नयाँ ढंगले अघि बढाउने तयारी भइरहेको मन्त्री पोखरेलले बताएका छन् ।

उनका अनुसार आगामी वर्षदेखि मल्टिभेन्यु अवधारणामा देशका विभिन्न स्थानमा सहिद स्मारक लिग सञ्चालन गर्ने योजना छ । यसले फुटबललाई शहरी क्षेत्रमा मात्र सीमित नराखी देशभर विस्तार गर्न र स्थानीय प्रतिभालाई अवसर दिन सहयोग पुग्ने सरकारको अपेक्षा छ ।