अस्ट्रेलियाका आधाभन्दा बढी नागरिक लागुऔषध प्रयोगकर्ता भएको खुलासा


क्यानबेरा । अस्ट्रेलियाका आधाभन्दा बढी नागरिकले आफ्नो जीवनकालमा कम्तीमा एकपटक अवैध लागुऔषध सेवन गरेको पाइएको छ । अस्ट्रेलियाको सरकारी प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्ल्यू)ले बिहीबार सार्वजनिक गरेको सन् २०२५ को राष्ट्रिय लागुऔषध रणनीति घरपरिवार सर्वेक्षणअनुसार १४ वर्ष वा सोभन्दा माथिका ५१ प्रतिशत अस्ट्रेलियालीले जीवनमा कम्तीमा एकपटक अवैध लागुऔषध सेवन गरेको बताएका छन् । सन् २०२२–२३ मा यस्तो दर ४७।३ प्रतिशत थियो ।

सन् २००१ मा गरिएको सर्वेक्षणमा भने ३७.७ प्रतिशत अस्ट्रेलियालीले जीवनकालमा अवैध लागुऔषध सेवन गरेको पाइएको थियो । प्रतिवेदनअनुसार सन् २०२५ मा सर्वेक्षणमा सहभागीमध्ये १८.३ प्रतिशतले पछिल्लो १२ महिनाभित्र अवैध लागुऔषध सेवन गरेका थिए । यो दर सन् २०२२–२३ मा १७.९ प्रतिशत र सन् २००१ मा १६।७ प्रतिशत थियो ।

अस्ट्रेलियामा सबैभन्दा बढी प्रयोग हुने अवैध लागुऔषध गाँजा रहेको छ । त्यसपछि कोकिनको प्रयोग बढी हुने गरेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२५ को सर्वेक्षणअनुसार १५.६ प्रतिशत अस्ट्रेलियालीले जीवनमा कम्तीमा एकपटक कोकिन सेवन गरेका छन् । सन् २००१ मा यो अनुपात ४.४ प्रतिशत मात्रै थियो ।

अवैध लागुऔषध सेवन गर्नेको अनुपात बढ्दै गए पनि जोखिमपूर्ण रूपमा मदिरा सेवन गर्ने नागरिकको संख्या भने घटेको पाइएको छ ।
१४ वर्ष वा सोभन्दा माथिका नागरिकमध्ये जोखिमपूर्ण स्तरमा मदिरा सेवन गर्नेको अनुपात सन् २०२५ मा घटेर २६.१ प्रतिशत पुगेको छ । सन् २०२२–२३ मा यो दर ३०.७ प्रतिशत र सन् २००१ मा ३८.१ प्रतिशत थियो ।

एआईएचडब्ल्यूका प्रवक्ता एलिस्टेयर बिस्लीले मदिरा अस्ट्रेलियामा अझै पनि सबैभन्दा बढी प्रयोग हुने लागूपदार्थमध्ये एक भए पनि जोखिमपूर्ण रूपमा मदिरा सेवन गर्नेको संख्या घट्दै गएको बताए।

यसैगरी, दैनिक सुर्तीजन्य पदार्थ सेवन गर्नेको दरमा पनि निरन्तर गिरावट आएको छ। सन् २००१ मा १९.५ प्रतिशत रहेको दैनिक धूमपान गर्नेको अनुपात सन् २०२२–२३ मा ८.३ प्रतिशत र सन् २०२५ मा घटेर ५.६ प्रतिशतमा झरेको प्रतिवेदनमा उल्लेख छ ।