न्युयोर्क । अमेरिकामा अक्टोबर महिनामा मुद्रास्फीति दर बढेर केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) को २ प्रतिशतको लक्ष्यभन्दा झन्डै दोब्बर पुगेको छ । यसले आगामी दिनमा ब्याजदर थप वृद्धि हुन सक्ने सम्भावना बढाएको छ ।
ब्युरो अफ इकोनोमिक एनालिसिसका अनुसार, फेडले प्राथमिकता दिने व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकांकको वार्षिक वृद्धिदर अक्टोबरमा ३.८ प्रतिशत पुगेको छ । यो सेप्टेम्बरको तुलनामा ०.१ प्रतिशत विन्दुले बढी हो ।
बजारले यसअघि नै ब्याजदर ०.२५ प्रतिशत विन्दुले वृद्धि हुने अपेक्षा गरेको भए पनि मुद्रास्फीतिलाई २ प्रतिशतमा झार्न थप कति वृद्धि आवश्यक पर्छ भन्ने विषयमा अनिश्चितता कायम रहेको अर्थविज्ञहरूले बताएका छन् ।
सेन्टर फर इकोनोमिक एन्ड पोलिसी रिसर्चका सहसंस्थापक डिन बेकरले मुद्रास्फीति निरन्तर बढिरहेकाले ब्याजदर वृद्धि हुने सम्भावना उच्च रहेको बताए । उनका अनुसार अमेरिकी भन्सार शुल्कमा सम्भावित वृद्धि र मध्यपूर्वको द्वन्द्वका कारण तेलको मूल्यमा देखिएको अनिश्चितताले थप मुद्रास्फीतिको दबाब सिर्जना गर्न सक्छ ।
ब्रुकिङ्स इन्स्टिच्युसनका वरिष्ठ अनुसन्धानकर्ता ड्यारेल वेस्टले उच्च ब्याजदरले आवास ऋण महँगो बनाउने र सर्वसाधारणको घर खरिद गर्ने क्षमता प्रभावित पार्ने बताए ।
यसैबीच, अमेरिकामा जीवनयापन खर्चको दबाब कायम छ भने मध्यपूर्वमा युद्ध सुरु भएयता पेट्रोलको मूल्यसमेत बढेको छ ।
डेमोर्क्याटिक पार्टीले स्वास्थ्य सेवा खर्च घटाउने, न्यूनतम ज्याला बढाउने र इरानसँगको युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । तर यी प्रतिबद्धता कार्यान्वयन गर्न चुनौती रहेको विश्लेषकहरूको भनाइ छ। उनीहरूका अनुसार, सरकारी खर्च र मुद्रा आपूर्तिसँग सम्बन्धित दीर्घकालीन दबाब सम्बोधन नगरेसम्म मुद्रास्फीति नियन्त्रण गर्न कठिन हुन सक्छ ।

प्रतिक्रिया