काभ्रे। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपामा प्रस्तावित अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो ‘सिनेपा’ निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
बनेपा नगरपालिका–१० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा प्रस्तावित स्टुडियो निर्माणस्थलको आज निरीक्षण गर्दै उनले स्थानीय बासिन्दाको भावना र वातावरणीय पक्षलाई सम्मान गर्दै राष्ट्रिय महत्त्वको आयोजना थप ढिलाइ नगरी अघि बढाउनुपर्ने बताए।
निर्माणका विषयमा स्थानीयको असहमति र सरोकार सम्बोधन गर्नुपर्ने भए पनि केही व्यक्ति वा परिवारको असहमतिका कारण राष्ट्रिय महत्त्वका परियोजना अनिश्चितकालसम्म रोक्न नहुने उनको भनाइ थियो।
‘परियोजना बन्दा कसैलाई अन्याय हुनु हुँदैन। स्थानीय बासिन्दाको भावना र सरोकारलाई सम्मान गर्नुपर्छ। तर राष्ट्रिय महत्त्वको परियोजना केही व्यक्ति वा परिवारको असहमतिका कारण सधैँ रोकिने अवस्था पनि हुनु हुँदैन,’ उनले भने।
मन्त्री तिमिल्सिनाले चलचित्र स्टुडियो निर्माणलाई भौतिक संरचनामा मात्र सीमित नराखी स्थानीय रोजगारी, पर्यटन, व्यवसाय र चलचित्र क्षेत्रको विकाससँग जोडेर हेर्नुपर्ने बताए। स्टुडियो सञ्चालनमा आएपछि चलचित्रकर्मी, कलाकार, प्राविधिक तथा पर्यटकको आवागमन बढ्ने र त्यसले होटल, यातायातलगायत स्थानीय व्यवसाय विस्तारमा सहयोग पुग्ने उहाँको भनाइ थियो।
करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण गर्ने लक्ष्य राखिएको स्टुडियोको प्रारम्भिक डिजाइनअनुसार संरचना निर्माणमा स्थानीयले अवरोध गरेपछि डिजाइन परिवर्तन गर्नुपर्ने वा नपर्ने विषयमा चलचित्र विकास बोर्डले अध्ययन गरिरहेको छ। बोर्डका अनुसार प्रारम्भिक प्राविधिक अध्ययनले निर्माणका लागि करिब एक लाख घनमिटर माटो व्यवस्थापन गर्नुपर्ने देखाएको छ।
निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले ठूलो परिमाणमा माटो कटान गर्दा वातावरणीय प्रभाव पर्न सक्ने र क्षेत्रको प्राकृतिक सौन्दर्यमा समेत असर पुग्न सक्ने भन्दै वैकल्पिक डिजाइन र स्थानबारे पुनः अध्ययन गर्न निर्देशन दिए।
उनले सम्भव भएसम्म प्राकृतिक स्वरूप जोगाएर स्टुडियो निर्माण गर्ने विकल्प खोज्नुपर्नेमा जोड दिए।
मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी एक वर्षभित्र स्टुडियो निर्माणको काम थाल्ने लक्ष्यसहित सरकार अघि बढेको जानकारी दिए। आयोजना कार्यान्वयनका लागि स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समिति र स्थानीय बासिन्दाको सहयोग आवश्यक रहेको उनले बताए।
चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले स्टुडियो निर्माणका लागि हालसम्म भएका काम र देखिएका चुनौतीबारे मन्त्रीलाई जानकारी गराएका थिए। स्थानीय जनप्रतिनिधिले पनि पहुँचमार्ग निर्माणलगायतका काममा सहजीकरण भइरहेको जानकारी दिँदै सामुदायिक वन उपभोक्ता समिति र स्थानीय बासिन्दासँग समन्वय गरेर आयोजना अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण गर्ने कार्यक्रम समावेश गरिएको थियो। सोही योजनाअन्तर्गत २०८२ वैशाखमा शिलान्यास गरिएको ‘सिनेपा’मा इन्डोर र आउटडोर दुवै प्रकारका छायाङ्कन संरचना निर्माण गर्ने योजना छ।
इन्डोरतर्फ अस्पताल, प्रहरी चौकी, कारागार तथा ठूला भवनका भित्री दृश्य छायाङ्कन गर्न मिल्ने स्थायी तथा पोर्टेबल सेट निर्माण गरिनेछ। त्यस्तै, आउटडोर क्षेत्रमा चलचित्र सङ्ग्रहालय, पुस्तकालय, पटकथा लेखन तथा निर्देशन कक्ष र गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सभाहल निर्माण गर्ने योजना रहेको छ।

प्रतिक्रिया