फ्रान्स र स्पेनमा डढेलोका कारण तीन लाखभन्दा बढी मानिस विस्थापित


बीबीसी । फ्रान्स र स्पेनमा भीषण डढेलोका कारण तीन लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । तीव्र हावा र अत्यधिक तापक्रमका कारण आगो नियन्त्रणमा लिन दमकलकर्मीहरूलाई कठिनाइ भइरहेको छ । दक्षिण–पश्चिम फ्रान्समा फैलिएको डढेलो तीव्र हावासँगै बोर्डो सहरतर्फ बढिरहेको छ। उद्धारमा खटिएका एक अधिकारीले आगो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्।

स्पेनमा डढेलोका कारण आपतकाल घोषणा गरिएको छ। म्याड्रिड बाहिरको क्षेत्रमा मौसममा केही सुधार आएपछि दमकलकर्मीहरूको प्रयासलाई राहत पुगेको भए पनि प्रधानमन्त्री पेद्रो साञ्चेजले आगामी दिन अझ चुनौतीपूर्ण रहने बताएका छन्।

यसैबीच, भ्यालेन्सिया क्षेत्रमा डढेलोमा परी ७० वर्ष आसपासका एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार मानिसेसस्थित साल्ट डे ल’आइगुआ क्षेत्रमा आगो निभाउने क्रममा दमकलकर्मीहरूले उनको शव कारभित्र फेला पारेका थिए।

फ्रान्समा शनिबार राति थप ५५ हजार जनालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। यससँगै गिरोन्ड र लान्द क्षेत्रबाट विस्थापित हुनेको संख्या करिब दुई लाख ५० हजार पुगेको छ।

दमकलका क्याप्टेन निकोला ब्राजका अनुसार आगोले आफ्नै हावाको बहाव र बवण्डर सिर्जना गरिरहेको छ, जसका कारण आगो अनियमित र नियन्त्रण गर्न कठिन बनेको छ। उनले आगामी रात पनि चुनौतीपूर्ण हुने चेतावनी दिएका छन्।

डढेलो नियन्त्रणका लागि फ्रान्सले सेना परिचालन गरेको छ। सेनाले झाडी हटाउने, आगो फैलिन नदिने अवरोध निर्माण गर्ने तथा दमकलकर्मीलाई सहयोग गरिरहेको छ।

राष्ट्रपति इमानुएल म्याक्रोँले प्रभावित क्षेत्रको पुनर्निर्माण गरिने र आवश्यक परेसम्म सरकार प्रभावित नागरिकसँग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

फ्रान्सभर करिब ३० स्थानमा डढेलो फैलिरहेका बेला राष्ट्रपति म्याक्रोँले मन्त्रीहरूसँग आपतकालीन बैठक बोलाएका छन्। सरकारले अहिलेको अवस्थालाई अभूतपूर्व डढेलो संकटका रूपमा वर्णन गरेको छ।