क्यानाडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु


वेनराइट (क्यानडा) । क्यानडाको अल्बर्टा प्रान्तस्थित सैन्य शिविरमा आगलागी हुँदा चार सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । प्रधानमन्त्री मार्क कार्नीले घटनालाई शान्तिकालमा क्यानाडाली सशस्त्र सेनाले सामना गरेका गम्भीर दुर्घटनामध्ये एक बताएका छन् ।

शनिबार अपराह्न प्रशिक्षण क्षेत्रमा सुरु भएको आगो तीव्र गतिमा फैलिँदा अभ्यासरत सैनिकहरू प्रभावित भएका थिए । अधिकारीहरूका अनुसार १९ जना गम्भीर घाइते भएका छन् । आगलागीको कारण पत्ता लगाउन कम्तीमा एक महिना लाग्न सक्ने मेजर जनरल वेड रटल्यान्डले बताए। प्रारम्भिक निरीक्षणमा ऊर्जा पूर्वाधारमा क्षति पुगेको सङ्केत नदेखिएको र बाह्य हस्तक्षेपको आशंका नरहेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री कार्नीले घाइतेको उपचारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेटोको सैन्य समितिका अध्यक्षले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । घटनापछि एडमन्टनस्थित अस्पतालमा घाइतेको चाप बढेको थियो ।

आगलागीका कारण अल्बर्टाको अग्रिम मतदानसमेत प्रभावित भएको छ । क्यानडाबाट अलग हुने विषयमा भविष्यमा जनमतसङ्ग्रह गर्ने प्रक्रिया अघि बढाउने कि नबढाउने भन्ने प्रस्तावमा सोमबार मतदान हुँदैछ । निर्वाचन व्यवस्थापन निकायले वेनराइटस्थित अग्रिम मतदान केन्द्र बन्द गरिएको जनाएको छ ।