जेनेभा । विश्वभर ८१ करोड ५० लाख बालबालिकाको रगतमा सिसाको मात्रा जोखिमपूर्ण स्तरमा रहेको जनाउँदै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसको विषाक्तता रोक्न प्रभावकारी कदम चाल्न देशहरूलाई आग्रह गरेको छ । सिसाको सम्पर्कमा आउँदा स्पष्ट लक्षण नदेखिए पनि मस्तिष्क र स्नायु प्रणालीमा गम्भीर तथा अपरिवर्तनीय क्षति पुग्न सक्छ ।
डब्लुएचओका अनुसार सिसा वातावरणीय स्वास्थ्यका गम्भीर तर बेवास्ता गरिएका जोखिममध्ये एक हो । रङ, भाँडाकुँडा, सौन्दर्य प्रसाधन, मसला, फोहोर सामग्रीको पुनःप्रशोधन र औद्योगिक प्रदूषण यसको सम्पर्कका प्रमुख स्रोत हुन् । सिसाको कुनै पनि स्तरको सम्पर्कलाई पूर्ण रूपमा सुरक्षित मान्न नसकिने सङ्गठनले जनाएको छ ।
डब्लुएचओको वातावरण विभागका प्रमुख ब्रुस गोर्डनका अनुसार विश्वभरका तीनमध्ये एकभन्दा बढी बालबालिकाको रगतमा सीसाको मात्रा सङ्गठनले तोकेको कार्यस्तरभन्दा माथि छ । रगतमा प्रतिडेसिलिटर पाँच माइक्रोग्राम वा सोभन्दा बढी सीसा भेटिएमा यसको स्रोत पहिचान गरी हटाउन सन् २०२१ मै सङ्गठनले सिफारिस गरेको थियो ।
बालबालिकामा प्रतिडेसिलिटर ३.५ माइक्रोग्राम सीसाको मात्रा पनि बौद्धिक क्षमता घट्ने, व्यवहारसम्बन्धी समस्या र सिकाइमा कठिनाइसँग सम्बन्धित हुन सक्छ । डब्लुएचओले सीसालाई आर्सेनिक, एस्बेस्टस र पारासहित जनस्वास्थ्यका लागि प्रमुख चिन्ताका १० रसायनमध्ये एकमा वर्गीकृत गरेको छ । यसबाट विश्वभर हरेक वर्ष ३५ लाखभन्दा बढी मानिसको मृत्यु हुने अनुमान गरिएको छ ।
सिसाको जोखिम नियन्त्रणका लागि डब्लुएचओले नेपालसहित ब्राजिल, भारत, इथियोपिया, घाना, मलावी, रुवान्डा, दक्षिण अफ्रिका र तान्जानियामा रगत परीक्षण गर्ने प्रयोगशालाको क्षमता बढाइरहेको छ । सङ्गठनले विश्वव्यापी कार्ययोजना तयार गरी आगामी मे महिनामा सदस्य राष्ट्रहरूको वार्षिक सभामा प्रस्तुत गर्ने जनाएको छ ।
गोर्डनले जनचेतना मात्र पर्याप्त नहुने बताउँदै प्रभावकारी नीति र कानून कार्यान्वयनमा जोड दिएका छन् । डब्लुएचओका अनुसार आधाभन्दा कम देशमा मात्र रङमा सीसाको प्रयोग नियन्त्रण गर्ने बाध्यकारी कानूनी व्यवस्था छ । उनले बालबालिकाको शरीरमा सीसा प्रवेश गर्नुअघि नै उत्पादन र वातावरणबाट यसको स्रोत हटाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया