अल जजिरा । हमास र अन्य प्यालेस्टिनी समूह गाजाको निःशस्त्रीकरणसम्बन्धी योजनामा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सहमतिलाई गाजामा शान्ति र स्थायित्वतर्फको महत्वपूर्ण उपलब्धि बताएका छन्।
अल जजिराका अनुसार सहमतिपत्रमा निःशस्त्रीकरणको विस्तृत कार्ययोजना १४ दिनभित्र तयार पार्ने उल्लेख छ। आवश्यक परे अन्तर्राष्ट्रिय प्रमाणीकरण निकायको स्वीकृतिमा समय थप गर्न सकिने व्यवस्था गरिएको छ।
हमासका वार्ता टोली सदस्य गाजी हमादले कठिन वार्तापछि सहमति जुटेको बताए। तर, इजरायलले आफ्ना प्रतिबद्धता पूरा नगरे सम्झौताको कुनै पनि पक्ष कार्यान्वयन नगर्ने स्पष्ट पारे। उनका अनुसार निःशस्त्रीकरण इजरायली सेना गाजाबाट फिर्ता हुने र पुनर्निर्माण प्रक्रिया अघि बढ्ने अवस्थासँग जोडिएको छ।
इजरायलले भने हालसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। सम्झौताअनुसार राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय स्थायित्व बल गाजामा प्रवेश गरेपछि निःशस्त्रीकरण प्रक्रिया सुरु हुनेछ। राष्ट्रिय समितिले हतियारको सूचीकरण र भण्डारण गर्नेछ भने अन्तर्राष्ट्रिय प्रमाणीकरण संयन्त्रले त्यसको अनुगमन गर्नेछ।
सम्झौतामा गाजाबाट इजरायली सेनाको चरणबद्ध फिर्तालाई पनि निःशस्त्रीकरणसँग जोडिएको छ। साथै, कुनै पनि हतियार इजरायल वा अन्य गैर–प्यालेस्टिनी निकायलाई नबुझाइने र गाजामा रहेका सबै हतियार राष्ट्रिय समितिको नियन्त्रणमा रहने उल्लेख गरिएको छ।
बोर्ड अफ पिसका एक अधिकारीका अनुसार प्रहरीसँग रहेका हतियार पहिले राष्ट्रिय समितिलाई हस्तान्तरण गरिनेछ भने त्यसपछि क्रमशः भारी हतियार निष्क्रिय बनाइनेछ। योजनाअनुसार गाजामा सबै सैन्य गतिविधि अन्त्य गरिने भए पनि प्रक्रिया चरणबद्ध रूपमा कार्यान्वयन हुनेछ।
ट्रम्पले निःशस्त्रीकरण पूरा भएपछि इजरायली सेना गाजाबाट फिर्ता हुने र अन्तर्राष्ट्रिय स्थायित्व बल तथा नयाँ प्यालेस्टिनी प्रशासनले त्यहाँको सुरक्षा र शासन सम्हाल्ने बताएका छन्।
यसबीच इजिप्टको कायरोमा हमास, इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्ताबीच युद्धविरामको दोस्रो चरणबारे वार्ता जारी छ। तर गाजास्थित अर्को सशस्त्र समूह प्यालेस्टिनी इस्लामिक जिहादले भने सम्झौताबारे सार्वजनिक भएका विवरणप्रति असहमति जनाएको छ।

प्रतिक्रिया