चीनविरुद्ध ट्रम्प प्रशासनको नयाँ कदम, ह्युमनोइड रोबोट आयात प्रतिबन्ध


रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारको संरक्षणलाई प्राथमिकता दिँदै चीनबाट आयात हुने नयाँ ह्युमनोइड रोबोट, चारखुट्टे (क्वाड्रुपेड) रोबोट तथा पावर इन्भर्टरमा प्रतिबन्ध लगाएको छ।

अमेरिकी फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) ले गरेको निर्णयअनुसार नवीकरणीय ऊर्जा प्रणाली, ब्याट्री, विद्युत् ग्रिड तथा डाटा सेन्टरसँग जोडिने कनेक्टेड पावर इन्भर्टरसमेत प्रतिबन्धको दायरामा परेका छन्।

रोयटर्सका अनुसार ट्रम्प प्रशासनले अमेरिकी एआई आपूर्ति शृंखलालाई चीनबाट हुन सक्ने अवरोध, डाटा चोरी र साइबर आक्रमणको जोखिमबाट जोगाउने तथा तीव्र रूपमा विस्तार हुने प्रविधि उद्योगको उत्पादन अमेरिकामै केन्द्रित गर्ने उद्देश्यसहित यो कदम चालेको हो।

एफसीसीले यस्ता उपकरणले अमेरिकी आर्थिक तथा राष्ट्रिय सुरक्षामा असर पार्ने आपूर्ति शृंखला जोखिम सिर्जना गर्न सक्ने र महत्वपूर्ण पूर्वाधारमा साइबर सुरक्षा खतरा निम्त्याउन सक्ने जनाएको छ। एफसीसीका अध्यक्ष ब्रेन्डन कारले अमेरिकाको महत्वपूर्ण आपूर्ति शृंखला सुरक्षित बनाउन आयोग प्रतिबद्ध रहेको बताएका छन्।
यता, वासिङ्टनस्थित चिनियाँ दूतावासले अमेरिकी निर्णयको विरोध गर्दै चीनविरुद्ध निराधार आरोप लगाउन र चिनियाँ कम्पनीहरूलाई प्रतिबन्धको धम्की दिन बन्द गर्न अमेरिकासँग आग्रह गरेको छ। साथै, आफ्ना हितमा प्रत्यक्ष क्षति पुग्ने कुनै पनि कदमको जवाफमा आवश्यक सबै उपाय अपनाइने चेतावनी पनि दिएको छ।
विश्लेषकहरूका अनुसार एआई प्रविधियुक्त ह्युमनोइड रोबोटको प्रयोग आगामी वर्षहरूमा उपभोक्ता र औद्योगिक क्षेत्रमा तीव्र रूपमा विस्तार हुने अपेक्षा गरिएको छ। त्यस्तै, अमेरिकामा तीव्र गतिमा निर्माण भइरहेका डाटा सेन्टरका लागि भरपर्दो पावर इन्भर्टर अत्यावश्यक मानिन्छ।

यसअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकी बौद्धिक सम्पत्ति चोरी गरेको आरोपमा चिनियाँ एआई कम्पनीहरूमाथि प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका थिए। अमेरिकी अधिकारीहरू चीनले दुर्लभ खनिज जस्तै अत्यावश्यक प्रविधि आपूर्ति शृंखलामा अत्यधिक नियन्त्रण कायम गर्न नपाओस् भन्ने रणनीतिमा पनि केन्द्रित रहेका छन्।