इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान


तेहरान । इरान, ओमान र साउदी अरेबियाले स्ट्रेट अफ होर्मुजको सुरक्षा सुनिश्चित गर्न संयुक्त कूटनीतिक प्रयासहरू तीव्र बनाउन आह्वान गरेको इरानी विदेश मन्त्रालयले मंगलबार जनाएको छ ।

इरानी विदेश मन्त्री सैयद अब्बास अराघची र उनका ओमानी तथा साउदी समकक्षी सैयद बद्र बिन हमद अल बुसाइदी र राजकुमार फैसल बिन फरहान अल सौदबीच भएको छुट्टाछुट्टै फोन वार्तामा यो विषयमा छलफल भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

छलफलमा मन्त्रीहरूले क्षेत्रीय स्थिरता सुनिश्चित गर्न सहयोग अघि बढाउन र संयुक्त कूटनीतिक प्रयासहरूलाई बढावा दिइ अमेरिकी आक्रमणको परिणाम स्वरूप स्ट्रेट अफ होर्मुजमा उत्पन्न भएको असुरक्षा हटाउन आवश्यक रहेको कुरामा जोड दिएका छन् ।

इरान र ओमानले तेहरानमा शुक्रबार र शनिबार स्ट्रेट अफ होर्मुज मार्फत सुरक्षित आवागमनको विषयमा वार्ता गरे पछि दुवै पक्षले तटीय राज्यहरूको सार्वभौम अधिकारको सम्मान गर्दै समुन्द्री ट्राफिक व्यवस्थापनका लागि आवाश्यक सिद्धान्त र संयन्त्रहरूमा विचार आदान–प्रदान गरेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले बताएका छन् ।

अमेरिकी सेनाले पछिल्लो समयमा इरान विरुद्ध धेरै चरणमा आक्रमण गरेको जनाएको छ भने तेहरानले यस क्षेत्रमा अमेरिकी आधार र सुविधाहरूमा मिसाइल तथा ड्रोन आक्रमणको साथ प्रतिक्रिया दिएको जनाइएको छ ।