रोयटर्स । युक्रेनले डेनमार्क, एस्टोनिया र नेदरल्यान्ड्ससँग थप तीनवटा ‘ड्रोन सम्झौता’ गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटो शिखर सम्मेलनका क्रममा उक्त जानकारी दिएका हुन् ।
टर्कीको राजधानी अंकारामा आयोजित सम्मेलनको अवसरमा सामाजिक सञ्जालमार्फत जेलेन्स्कीले युक्रेनले अबसम्म यस्ता नौवटा सम्झौता गरिसकेको बताए। उनका अनुसार सम्झौताले रुससँग चार वर्षभन्दा बढी समयदेखि जारी युद्धका क्रममा युक्रेनले विकास गरेको ड्रोन प्रविधि र अनुभव साझेदारी गर्ने मार्ग खुला गरेको छ।
सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण सुरु गर्दा ड्रोन प्रविधिमा सीमित क्षमता रहेको युक्रेनले युद्धकै क्रममा अत्याधुनिक ड्रोन उद्योग विकास गरेको छ। जेलेन्स्कीले विशेषगरी इरानी आक्रमणको जोखिम सामना गरिरहेका मध्यपूर्वका मुलुकहरूसँग पनि यस्ता सहकार्यका लागि सक्रिय कूटनीतिक पहल गर्दै आएका छन्।
डेनमार्कसँग भएको सम्झौताबारे उनले यसले संयुक्त रक्षा उत्पादन, प्राविधिक अनुभव आदानप्रदान तथा हतियार निर्यातमा पारदर्शिता अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने बताए। युक्रेनसँग संयुक्त रक्षा उत्पादनको प्रस्ताव गर्ने पहिलो मुलुक डेनमार्क भएकाले युद्धमै परीक्षण गरिएका युक्रेनी हतियारको निर्यातमा उसले पहुँच पाउनु स्वाभाविक भएको उनको भनाइ थियो।
शिखर सम्मेलनको पहिलो दिनपछि एक्समा प्रतिक्रिया दिँदै जेलेन्स्कीले युक्रेन नेटो समुदायको हिस्सा बन्न योग्य रहेको दोहोर्याए । सम्मेलनमा युक्रेनको मुख्य प्राथमिकता थप हवाई प्रतिरक्षा प्रणाली प्राप्त गर्नु र आफ्नो कूटनीतिक अवस्थालाई अझ सुदृढ बनाउनु रहेको उनले बताए।
गत एक साताभित्र रुसले किएभमा दुईपटक ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेपछि युक्रेनले आफ्नो हवाई प्रतिरक्षा क्षमता सुदृढ गर्नुपर्ने आवश्यकता दोहोर्याउँदै आएको छ। सोमबार भएको पछिल्लो आक्रमणमा १९ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया