दुबई । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शनिबारदेखि सुरु हुने अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) का प्रमुख जनरल अहमद वाहिदी सार्वजनिक रूपमा देखिएका छन्।
इरानी सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर र भिडियोमा वाहिदी अन्त्येष्टिको तयारीसम्बन्धी बैठकमा सहभागी भएको तथा तेहरानस्थित खामेनीको पूर्व निवास नजिक आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनको कफिन छेउमा बसेको देखिएको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार ८६ वर्षीय खामेनीको सम्मानमा बिहीबार राति तेहरानको केन्द्र क्षेत्रमा शोकसभा आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी शोकाकुलहरूले कफिनतर्फ स्कार्फ तथा अन्य सामग्री अर्पण गरेका थिए, जुन इरानमा श्रद्धाञ्जली व्यक्त गर्ने परम्परागत अभ्यास मानिन्छ।
युद्ध सुरु हुनुभन्दा केही साताअघि फेब्रुअरी ८ पछि वाहिदी सार्वजनिक रूपमा नदेखिएकाले उहाँको पुनः उपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार अमेरिकासँग सम्भावित वार्तामा इरानको कडा अडान तय गर्न वाहिदीको प्रभावशाली भूमिका रहने अपेक्षा गरिएको छ।
उनलाई नयाँ सर्वोच्च नेता अयातुल्ला मोजताबा खामेनीसँग प्रत्यक्ष सम्पर्कमा रहने सीमित व्यक्तिमध्ये एक मानिन्छ। मोजताबा खामेनी फेब्रुअरी २८ मा इजरायली आक्रमणमा घाइते भएका थिए भने सोही आक्रमणमा उनका पिता अयातुल्ला अली खामेनीको मृत्यु भएको इरानले जनाएको छ।
सरकारी सञ्चारमाध्यमले प्रसारण गरेको भिडियोमा तेहरानस्थित हुसिनियाह परिसरमा राखिएको खामेनीको कफिन रातो ट्युलिप फूलले सजाइएको देखिन्छ। कफिनमाथि शिया समुदायमा विशेष महत्त्व राख्ने ‘या हुसेन’ लेखिएको सेतो सुलेखनसहितको रातो झण्डा ओढाइएको थियो। उक्त झण्डालाई अन्यायपूर्ण रूपमा मारिएका व्यक्तिको रगत र प्रतिशोधको प्रतीकका रूपमा लिने गरिन्छ।
इरानले शनिबारदेखि खामेनीको दिनभर चल्ने अन्त्येष्टि कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। उहाँको पार्थिव शरीर इरान तथा छिमेकी इराकका विभिन्न सहरमा लगिने कार्यक्रम तय गरिएको छ।
अन्त्येष्टि तेहरानको ग्रान्ड मोसल्लाबाट सुरु हुनेछ। शोक समारोहका कारण तेहरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सडक तथा दैनिक जनजीवन प्रभावित हुने अपेक्षा गरिएको छ। दशकमै पश्चिमसँग टकरावपूर्ण नीति अपनाउँदै इरानको नेतृत्व गरेका खामेनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा नागरिक सहभागी हुने सरकारी अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया