एआईको तीब्रतर विकाससँगै यस क्षेत्रमा ठूलो लगानी गर्दै दक्षिण कोरिया


सियोल । दक्षिण कोरियाले आगामी वर्षहरूमा देशको चिप उत्पादन र कृत्रिम बुद्धिमत्ता (एआई) क्षमताहरू निर्माण गर्न लगभग १.२ ट्रिलियन डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ।

कृत्रिम बौद्धिकता (एआई) चलाउन आवश्यक साधनहरूको ठूलो मागले दक्षिण कोरियालाई चीनजस्ता प्रतिस्पर्धीहरूविरुद्ध आफ्नो ‘चिप’ उद्योगलाई बलियो बनाउने अवसर दिएको विश्लेषकहरूले बताएका छन्।

सियोलले सोमबार नयाँ सेमीकन्डक्टर कारखाना र एआई डाटा सेन्टरहरू समेटिने गरी ठूलो लगानीको घोषणा गरेको छ र यसको नेतृत्व दक्षिण कोरियाली चिप उत्पादक कम्पनीहरूले गरेका छन्।

यो देशको तीन मेगा परियोजनाहरूको एक हिस्सा हो जसमा नयाँ चिप उत्पादन केन्द्रहरू, डाटा सेन्टरहरू र रोबोटिक्स प्रविधिहरू विकास गरिनेछ।

यो योजना राजधानी सियोल बाहिरका क्षेत्रहरूको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने उद्देश्यले गरिएको राष्ट्रपति ली जे-म्युङले सोमबार बताए।

व्यापक नाफा

एआई प्रणाली चलाउन मद्दत गर्ने उन्नत मेमोरी चिप उत्पादन गर्ने विश्व बजारमा अमेरिकी कम्पनी माइक्रोन र दक्षिण कोरियाका सामसङ इलेक्ट्रोनिक्स तथा एसके हाइनिक्स गरी प्रमुख तीन कम्पनीको वर्चस्व छ।

सरकार तथा प्रविधि कम्पनीहरूले एआई उपकरण प्रशिक्षण र सञ्चालनमा सयौँ अर्ब डलर खर्च गरिरहँदा यी कम्पनीहरूको नाफा र शेयर मूल्य अत्यधिक बढेको छ।

‘एआईले ठूलो माग मात्र होइन, अभाव पनि सिर्जना गरेको छ जसले मूल्य वृद्धि गराएको छ,’ सेमीकन्डक्टर विशेषज्ञ जिम ह्यान्डीले एएफपीले प्राप्त ‘अब्जेक्टिभ एनलाइसिस’ मा एएफपीलाई बताए।

मेमोरी र स्टोरेज चिपको बढ्दो मूल्य उपभोक्तासम्म पुगेको छ। एप्पलले म्याकबुक र आइप्याडको मूल्य यसै महिना बढाएको छ। यो विकासले ल्याएको आर्थिक वृद्धिले कामदारहरूको तलब मागलाई पनि बढावा दिएको छ। सामसुङले मे महिनामा ठूलो हडताल टार्न आफ्नो सबैभन्दा ठूलो ट्रेड युनियनसँग बोनस सम्झौता गरेको थियो।

चिनियाँ प्रतिस्पर्धा

दक्षिण कोरियाले यस वर्ष एआईमा खर्च तीन गुणा बढाउने प्रतिबद्धता जनाएको छ। यसले अमेरिका र चीनसँगै विश्वका शीर्ष एआई शक्तिमध्ये एक बन्न लक्ष्य राखेको छ।

विशेष गरी चीनले आफ्नो प्रविधि उद्योग विकासमा दौडिरहेको बेला सियोलले यो विकासको अवधिलाई ‘एक पटकको अवसर’ को रूपमा हेरेको प्रविधि कम्पनी ‘ओमडिया’का प्रमुख विश्लेषक लियन ज्ये सुले बताए। ‘यो दक्षिण कोरियाका लागि आफ्नो रणनीतिक लाभ प्रयोग गरेर लगानी गर्न उपयुक्त समय हो किनकि एआईको प्रगति सुस्त हुनसक्छ र माग घट्न सक्छ,’ उनले एएफपीसँगको कुराकानीमा भने।

फाइनान्सियल टाइम्सले शनिबार आफ्नो समाचारमा लेखेको छ, ‘एप्पलले चिनियाँ उत्पादक ‘सीएक्सएमटी’बाट मेमोरी चिप किन्न खोजिरहेको छ र यो कम्पनी अभावबाट फाइदा लिने स्थितिमा छ। एएफपीले यस सम्बन्धमा एप्पल र सीएक्सएमटीसँग प्रतिक्रिया मागेको छ।

‘चिनियाँ कम्पनीहरूलाई सस्तो श्रम र ठूलो घरेलु मागको फाइदा छ, तर उनीहरूको प्रविधि वृद्धिमा सीमा हुनसक्ने देखिन्छ,’ सुले बताए। ‘मानिसहरू चिनियाँ ‘सिलिकन’मा अत्यधिक निर्भर हुन कम इच्छुक छन् र यसै कारण सामसुङजस्ता कोरियाली कम्पनीहरूले उत्पादनमा ‘दोब्बर’ जोड दिन चाहेका छन्।

नवप्रवर्तन अनिवार्य

‘स्थापित एसियाली चिप उत्पादकहरूले एआइको तीब्रतर विकासको फाइदा लिन सक्छन् किनकि उनीहरू अझै नवप्रवर्तनशील छन्,’ ह्यान्डीले भने। ‘यसले उनीहरूलाई नाफा दिन्छ, उनीहरू र उस्तै स्तरको खर्च र अनुसन्धान लगानी गर्न नसक्ने ती साना कम्पनीहरूबीचको खाडललाई यसले बढाउँछ,’ उनले अगाडि भने।

‘सोमबारको घोषणासँगै दक्षिण कोरियाली चिप उत्पादकहरूले आफूसँग भएको प्रशस्त नगदको उपयोग गरेर आफ्नो उत्पादन विविधीकरण गर्न चाहेका छन्,’ सुले थपे।

यसले उनीहरूलाई हालको आकर्षण क्षेत्र बनेको मेमोरी चिप निर्माणमा अत्यधिक निर्भर हुनबाट जोगाउँछ। अर्थशास्त्रीहरूले यसलाई ‘डच डिजिज’ भन्छन्, जसले एक वस्तुको अस्थायी मूल्य वृद्धिको नकारात्मक प्रभावलाई जनाउँछ।

तीव्रतर आर्थिक वृद्धि कि अवनति

एआई क्षेत्रको चकित पार्ने विकास गतिले सामसुङको शेयर मूल्य गत वर्ष ४३० प्रतिशतभन्दा बढी बढेको छ भने एसके हाइनिक्सको ७७० प्रतिशत बढेको छ। यसले एआईको तीब्रतर विकास कति समय टिक्छ भन्ने चिन्ता बढाएको छ।

‘सुजस्ता केही विश्लेषकहरू एआई उपकरणहरू व्यवसायिक सञ्चालनमा गहिरिएर एकीकरण हुँदै गएकाले माग बलियो रहनेमा आशावादी छन्। मेमोरी चिपका लागि ‘अन्तिम बजारमा प्रभाव नपरेसम्म मूल्य बढ्न रोकिने कुराको कम सम्भावना छ,’ ह्यान्डीले भने। ‘यदि मूल्य अत्यधिक बढ्यो भने बजारले अर्को प्रविधितर्फ लाग्छ वा पूरै हराउँछ’, उनले भने, ‘तर हामी अझै त्यहाँ पुगेका छैनौं।’