पेरिस । युरोपमा यसवर्ष देखिएको रेकर्डस्तरको गर्मीको लहर मानवसिर्जित जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम भएको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् । वैज्ञानिकहरूका अनुसार ५० वर्षअघि जुन महिनामा यस्तो अत्यधिक गर्मी आउनु लगभग असम्भव थियो, तर जलवायु परिवर्तनका कारण अहिले यस्ता उष्ण लहरहरू बारम्बार र अझ खतरनाक बन्दै गएका छन् ।
विश्व मौसम एट्रिब्युसन समूहले शुक्रबार सार्वजनिक गरेको अध्ययनमा युरोप, अमेरिका र बेलायतका वैज्ञानिकहरूले हालको उष्ण लहरको विश्लेषण गरेका छन् । अध्ययनअनुसार सन् १९७६ मा यस्तै प्रकारको गर्मीको लहर आएको भए तापक्रम अहिलेको तुलनामा करिब ३.५ डिग्री सेल्सियस कम हुने थियो ।
अध्ययनका प्रमुख लेखक तथा इम्पेरियल कलेज लन्डनका वैज्ञानिक थियोडोर किपिङले वर्तमान तापक्रम वृद्धि जलवायु परिवर्तनबिनाको अवस्थामा सम्भव नहुने बताए । उनका अनुसार अहिले पृथ्वी पूर्वऔद्योगिक कालको तुलनामा करिब १.४ डिग्री सेल्सियस तातिसकेको छ, जसको मुख्य कारण कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको अत्यधिक प्रयोग हो ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले गर्मीको लहर, खडेरी तथा अन्य चरम मौसमी घटनालाई अझ तीव्र र बारम्बार बनाइरहेको छ । त्यसैले तापक्रम वृद्धिलाई सीमित गर्नु विश्व समुदायका लागि अत्यन्त आवश्यक रहेको उनीहरूको भनाइ छ ।
विश्वमै सबैभन्दा तीव्र रूपमा तातिरहेको महाद्वीप युरोपमा यस साता लाखौँ मानिसहरूले अत्यधिक गर्मीको सामना गरेका छन् । केही देशहरूमा तापक्रमले नयाँ कीर्तिमानसमेत कायम गरेको छ ।
विश्व मौसम एट्रिब्युसनका सहसंस्थापक फ्रेडेरिक ओटोले असामान्य मौसम प्रणालीभन्दा पनि मानवसिर्जित तापक्रम वृद्धिले अहिलेको अवस्था सिर्जना गरेको बताए । उनका अनुसार विगतमा यस्ता तापक्रम अत्यन्त दुर्लभ मानिन्थे ।
वैज्ञानिकहरूले सन् २००३ को विनाशकारी युरोपेली गर्मीको लहरसँग पनि अहिलेको अवस्थाको तुलना गरेका छन् । त्यतिबेला युरोपका विभिन्न देशमा दशौँ हजार मानिसको मृत्यु भएको थियो । अध्ययनअनुसार अहिलेको गर्मी सन् २००३ को तुलनामा पनि अझ बढी चरम देखिएको छ ।
सन् २००३ मा यस्तै घटना घटेको भए तापक्रम करिब २ डिग्री सेल्सियस कम हुने अध्ययनले देखाएको छ । त्यसबेला यति उच्च तापक्रम निकै दुर्लभ हुने र रातिको अत्यधिक गर्मीको सम्भावना पनि अहिलेको तुलनामा धेरै कम हुने वैज्ञानिकहरूले बताएका छन् ।
अध्ययनले पछिल्ला दुई दशकमै तीव्र गर्मीका घटनाहरू दसौँदेखि सयौँ गुणासम्म बढेको देखाएको छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तन यसका लागि स्पष्ट रूपमा जिम्मेवार छ ।
एल निनो जस्ता प्राकृतिक मौसमी चक्रले यसपटकको तातो लहरमा महत्त्वपूर्ण भूमिका नखेलेको पनि अध्ययनले उल्लेख गरेको छ ।
फ्रेडेरिक ओटोले अत्यधिक तापक्रम र आद्र्रताको संयोजनबाट उत्पन्न हुने ‘गर्मी तनाव’ लाई विशेष चिन्ताको विषय बताए । शरीरको प्राकृतिक शीतलन प्रणाली असफल हुँदा चक्कर लाग्ने, टाउको दुख्ने, अङ्गहरूमा समस्या देखिने र मृत्युसम्म हुन सक्ने खतरा रहने उनले बताए ।
अध्ययनमा समेटिएका युरोपका करिब ८५० सहरमध्ये झन्डै ४५ प्रतिशतले जुन महिनामा आफ्नो इतिहासकै उच्च गर्मी तनावको रेकर्ड तोडेका छन् वा तोड्ने अवस्थामा पुगेका छन् । यसले अहिलेको गर्मीको लहरलाई विशेष रूपमा खतरनाक र असहज बनाएको वैज्ञानिकहरूको निष्कर्ष छ ।
यसअघि मे महिनामा पनि युरोपको मध्य तथा पश्चिमी क्षेत्रमा असामयिक गर्मीको लहर देखिएको थियो । यस वर्ष युरोपले छोटो अवधिमै दोस्रो पटक तीव्र गर्मीको सामना गरिरहेको छ ।
विश्व मौसम एट्रिब्युसन समूहले भविष्यमा अझ घातक तापक्रम वृद्धि र त्यसका असरबाट बच्न जीवाश्म इन्धनको प्रयोगलाई तीव्र रूपमा घटाउनु अपरिहार्य रहेको जनाएको छ ।

प्रतिक्रिया