हङ्गेरीका राष्ट्रपतिलाई हटाउने प्रधानमन्त्रीको योजना विवादमा


बुडापोस्ट । हङ्गेरीका प्रधानमन्त्री पीटर माग्यारले संविधान संशोधन गरी आफ्ना पूर्ववर्ती भिक्टर ओरबानका सहयोगी राष्ट्रपतिलाई हटाउने योजना सार्वजनिक भएपछि यस कदमको आलोचना भएको छ ।

माग्यारको सरकारले सोमबार संविधान संशोधनको मस्यौदा प्रकाशित गरेको थियो जसले राष्ट्रपतिको कार्यकाल तत्काल समाप्त गर्ने व्यवस्था गरेको छ ।

राष्ट्रपति तामास सुल्योकले माग्यारको राजीनामा माग्ने आह्वान अस्वीकार गरेका छन् । प्रधानमन्त्री माग्यारको दलले ओरबानको १६ वर्ष लामो शासनपछि ‘व्यवस्था परिवर्तन’ को वाचा गर्दै अप्रिलमा भएको निर्वाचनमा संसद्को दुई तिहाईभन्दा बढी सिट जितेको छ ।

प्रसिद्ध राजनीतिक विश्लेषक गाबोर टोरोकले भने, “माग्यारको पार्टीले दुई तिहाई बहुमत भएकाले संसद्बाट पास गर्न सक्छ भन्ने संविधान संशोधनको बिषयले दीर्घकालीन नजिर बसाल्ने छ र यसले कानुनको शासनसम्बन्धी चिन्ता बढाएको छ ।”

टोरोकले फेसबुकमा लेखेका छन्, “टेबलमा हतियार राखियो भने त्यसलाई प्रयोग गर्न पनि सकिन्छ भन्ने अर्थ हुन्छ । एक पटक हतियार प्रयोग भएपछि त्यो सम्भावना मात्र होइन, विकल्पहरूको सूचीमा सामेल हुन्छ ।”

माग्यारले टोरोकको पोस्टमा कमेन्ट गर्दै भने, “जनताको लोकतान्त्रिक इच्छा र प्राप्त जनादेशविरुद्ध जानु उपयुक्त हुँदैन।”
माग्यारको सरकारले राष्ट्रपति सुल्योकलाई ‘कठपुतली’ शासकको उपमा दिएको छ यसले सरकारप्रतिको विश्वास गुमेको टोरोकले बताए ।

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पनि प्रस्तावित संविधान संशोधनको आलोचना गर्दै ‘यो स्वीकार्य छैन’ भनेको छ। संस्थाले राष्ट्रपति सुल्योकलाई ‘उचित प्रक्रिया’ को हक भएको र उहाँलाई पदबाट हटाउन ‘उपयुक्त कानुनी सुरक्षा’ मात्र हुनुपर्ने बताएको छ ।

“यदि यो सुनिश्चितता सबैलाई लागू हुँदैन भने, हामी कसैगरी पनि मनपरीबाट सुरक्षित छैनौँ”, एम्नेस्टीले भनेको छ, “साँचो व्यवस्था परिवर्तन केवल निष्पक्ष प्रक्रिया पालना गरेर मात्र सम्भव छ।”