बीबीसी । संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले हर्मुज जलडमरूमध्य क्षेत्रमा अलपत्र परेका ११ हजारभन्दा बढी नाविकको उद्धार गर्ने भएको छ ।
अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण खाडी क्षेत्रमा हजारौं नाविक विभिन्न जहाजमा फसेका छन् । आईएमओका महासचिव आर्सेनियो डोमिन्ग्वेजले इरान, ओमान, अमेरिका तथा अन्य क्षेत्रीय मुलुकहरूको सहकार्यमा उद्धार अभियान सञ्चालन गरिने बताएका छन् ।
उनका अनुसार सुरक्षित समुद्री आवागमनका लागि आवश्यक सुरक्षा प्रत्याभूति प्राप्त भइसकेको छ । उद्धार अभियान सफल बनाउन हर्मुज जलडमरूमध्य खुला रहनु आवश्यक रहेको आईएमओले जनाएको छ ।
गत साता अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि अन्तरिम सम्झौता भए पनि सम्झौताका विभिन्न विषयमा दुवै पक्षबीच मतभेद कायमै छ । अमेरिकाले इरानको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय निरीक्षणमा आउने दाबी गरेको छ भने इरानले आफ्नो आणविक केन्द्रहरूको निरीक्षणमा सीमितता रहने संकेत दिएको छ ।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलडमरूमध्य प्रयोग गर्ने जहाजबाट शुल्क असुल्न नपाइने बताएका छन् । उनले हर्मुज अन्तर्राष्ट्रिय जलमार्ग भएकाले कुनै पनि देशले त्यहाँ कर वा शुल्क लगाउन नसक्ने बताएका हुन् ।
आईएमओका अनुसार उद्धार योजनाअन्तर्गत जलडमरूमध्य हुँदै अस्थायी समुद्री मार्ग प्रयोग गरिनेछ । संगठनले दैनिक रूपमा सुरक्षित रूपमा बाहिरिएका जहाजहरूको विवरण सार्वजनिक गर्ने जनाएको छ ।
फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु भएपछि हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द भएको थियो । त्यसपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढ्नुका साथै ऊर्जा र अत्यावश्यक वस्तुको आपूर्तिमा समेत असर परेको थियो ।
समुद्री सूचना कम्पनी क्लेप्लरका अनुसार जलडमरूमध्य पुनः सञ्चालनमा आएपछि हालसम्म १७२ भन्दा बढी जहाज त्यहाँबाट आवतजावत गरिसकेका छन् ।

प्रतिक्रिया