रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि ४८ घण्टाभित्र सम्झौता गर्न अल्टिमेटम दिएका छन् । ट्रम्पले सम्झौता नभए वा होर्मुज जलडमरूमध्य नखोलेमा कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। ‘समय सकिँदैछ—४८ घण्टापछि ठूलो विनाश हुनेछ,’ उनले ‘ट्रुथ सोसल’मा लेखेका छन् ।
यता इरान र अमेरिकी सुरक्षा बलहरूले खसालिएका दुई युद्धविमानमध्ये एकका हराएका पाइलटको खोजी तीव्र पारेका छन् । इरानभित्र जिवित अवस्थामा भागिरहेका अमेरिकी सैनिक हुन सक्ने सम्भावनाले द्वन्द्व झन् संवेदनशील बनेको छ ।
इरानका विदेशमन्त्री अब्बास अघाचीले पाकिस्तानमार्फत मध्यस्थतामा वार्ताको ढोका खुला रहेको संकेत दिए पनि ट्रम्पका सर्तहरू स्वीकार गर्ने कुनै संकेत दिएका छैनन् । ‘हामी पाकिस्तानको प्रयासप्रति कृतज्ञ छौँ, तर हाम्रो प्राथमिकता हामीमाथि थोपरिएको अवैध युद्धको स्थायी अन्त्य हो,’ उनले एक्समार्फत प्रतिक्रिया दिएका छन् ।
युद्धका कारण हजारौँको ज्यान गएको, ऊर्जा संकट चुलिएको र विश्व अर्थतन्त्रमा असर पर्ने खतरा बढेको छ। इरानले विश्वको करिब पाँचौँ भाग तेल बोक्ने होर्मुज जलडमरूमध्यमा आवागमन अवरुद्ध पारेको बताइएको छ।
इरानको रिभोल्युशनरी गार्डले हराएका पाइलटको खोजी जारी राखेको जनाएको छ। साथै, नयाँ हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरी अमेरिकी जेट, ड्रोन र मिसाइलहरू लक्षित गरिएको दाबी गरेको छ।

प्रतिक्रिया