काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका छन् ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा दुईमहिने राष्ट्रिय जागरण अभियान शुभाम्भ कार्यक्रममा सहसंयोजक नेपालले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी नीति र संविधानको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका हुन् ।
उनले मुलुकको राष्ट्रियताप्रति कुनै किसिमले आघात पुर्याउने काम भए टुलुटुलु हेरेर बस्न नसक्ने बताए । पार्टीको मुख्य आधार र प्राण जनता नै भएकाले जनताको घरदैलोमा पुगेर उनीहरूको गुनासो, अपेक्षा र सुझाव सुन्ने तथा जनताको विश्वास पुनरावृत्ति गर्ने उनको भनाइ छ ।
देशमा बढ्दो बेरोजगारी, युवाहरूको विदेश पलायन, र जनताका दैनिक जीवनका समस्याहरूलाई गम्भीर रूपमा उठाएर तिनको सम्बोधनका लागि दबाब सिर्जना गर्ने उनले बताए ।
विगतमा सरकारमा रहँदा वा अन्य समयमा पार्टीबाट भएका कमीकमजोरीहरूको आत्मसमीक्षा गर्ने र जनतामा देखिएका केही असन्तुष्टिहरूलाई सुधार्दै अघि बढ्ने उनको भनाइ छ ।
पुराना पार्टीहरू वा नेताहरूले केही गरेनन् भन्ने खालका सतही र मनोसामाजिक आरोपहरूको तथ्य र प्रमाणका आधारमा प्रतिवाद गर्ने तथा पार्टीले विगतमा गरेका कामहरूको फेहरिस्त जनतामा लैजाने योजना रहेको उनले बताए ।

प्रतिक्रिया