वासिङ्टन । अमेरिकी सिनेटले सोमबार राति एक महत्वपूर्ण कोषीय विधेयक पारित गरेको छ, जसले इतिहासकै लामो सरकारी बन्द केही दिनमै अन्त्य हुने सम्भावना देखिएको छ ।
६०–४० मतान्तरले पारित भएको उक्त विधेयकमा अधिकांश रिपब्लिकन सांसदहरूसँगै आठ जना डेमोक्रेट सांसदले पनि समर्थन गरेका थिए। सम्झौताअनुसार सरकारले जनवरीको अन्त्यसम्मका लागि वित्तीय सहयोग पाउनेछ ।
अब उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरपछि लागू हुनेछ । ट्रम्पले सोमबारै उक्त विधेयकमा हस्ताक्षर गर्न आफू तयार रहेको संकेत दिएका थिए । सप्ताहन्तमा केही डेमोक्रेट सांसदहरूले रिपब्लिकनहरूसँग मिलेर संघीय कर्मचारीहरूलाई पुनः काममा फर्काउने र आवश्यक सेवाहरू पुनः सञ्चालन गर्ने सहमति जुटाएका थिए ।
रिपब्लिकनहरूको ५३–४७ बहुमत रहेको सिनेटमा विधेयक पारित हुन ६० मतको न्यूनतम सीमा आवश्यक थियो। डेमोक्रेट सिनेटर डिक डर्बिन, जोन फेटरम्यान, क्याथरिन कोर्टेज मास्टो, म्यागी हसन, टिम केन, एंगस किंग, ज्याकी रोसेन र जीन शहीनले आफ्नै दलको लाइन तोड्दै विधेयकको समर्थनमा मतदान गरे ।
अक्टोबरदेखि सरकारी सेवा निलम्बित भइरहेका कारण करिब १४ लाख संघीय कर्मचारी तलबबिनाको बिदा वा बिना तलब काममा रहेका छन् । सरकारी बन्दका कारण अमेरिकी हवाई सेवा र ४१ मिलियन न्यूनआय भएका नागरिकहरूलाई दिइने खाद्य सहायता कार्यक्रमलगायत विभिन्न सेवामा व्यापक प्रभाव परेको छ ।

प्रतिक्रिया