काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई जवाफदेही बन्न चेतावनी दिएका छन् । आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्दै सभापति थापाले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउँदै विशेषगरी प्रेस स्वतन्त्रता, कानुनी शासन, अनुसन्धानको निष्पक्षता, संवैधानिक संस्थाको स्वतन्त्रता र विपद् प्रभावित नागरिकका समस्यालाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।
पत्रकारलाई सञ्चारमाध्यमकै कार्यालयबाट पक्राउ गरिएको घटनालाई उनले गम्भीर रूपमा लिएका छन्। घटनाबारे विज्ञप्ति जारी गरेर मात्रै सरकार उम्किन नपाउने भन्दै उनले प्रहरी कार्यालयभित्र वा बाहिर कसको निर्देशनमा के भयो भन्ने विषयको निष्कर्ष सार्वजनिक हुनुपर्ने बताए।
उनले भने, ‘हामीलाई यसको जवाफ होइन, परिणाम चाहिन्छ । किन भयो, कसले गर्यो, कानुनको कसरी प्रयोग भयो र जिम्मेवार को हो भन्ने विषयमा सरकारले परिणाम देखाउनुपर्छ।’
उनले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रा कामको जस लिने तर गलत कामको जिम्मेवारी नलिने प्रवृत्ति देखाएको आरोपसमेत लगाए। सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेको घटनामा रास्वपाले सरकारलाई निर्देशन दिएको भन्दै विज्ञप्ति निकाले पनि त्यसको राजनीतिक जिम्मेवारी नलिएको उनको भनाई थियो ।
सभापति थापाले सरकारलाई कानुनको सीमाभित्र रहेर काम गर्न पनि सचेत गराए। नयाँ सरकार भएकाले सुरुवाती चरणमा केही समय शंकाको सुविधा दिएको उल्लेख गर्दै अब राज्यका कुनै पनि निकायले कानुनविपरीत काम नगर्ने सुनिश्चितता व्यवहारबाटै देखाउनुपर्ने बताए।
उनले सरकारले गरिरहेका संवेदनशील अनुसन्धानलाई पनि राजनीतिक स्वार्थबाट मुक्त राख्नुपर्नेमा जोड दिए। दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने तर अनुसन्धानलाई आफूअनुकूल प्रयोग गर्ने, कसैलाई लक्षित गर्ने वा चयनात्मक बनाउने काम स्वीकार्य नहुने उनको भनाइ छ।
त्यस्तै, न्यायपालिका र संवैधानिक संस्थाहरूको स्वतन्त्रता तथा निष्पक्षता कायम राख्ने विषयमा कांग्रेस सबै पक्षसँग संवाद गर्न तयार रहेको उनले बताए। यसका लागि राजनीतिक दलहरूबीच मात्रै नभई नागरिक समाज, सञ्चार क्षेत्र र सम्बन्धित निकायसँग पनि छलफल गर्ने उनले बताए ।
कमजोर अर्थतन्त्रलाई सुधार गर्ने तथा नागरिकका आधारभूत समस्या समाधान गर्ने काममा सरकार केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। सभापति थापाले रास्वपाले पाँच वर्ष सरकार चलाउने जनादेश पाएको स्वीकार गर्दै कांग्रेसले पनि प्रमुख प्रतिपक्षको जिम्मेवारी पाएको स्मरण गराए। सरकारलाई आवश्यक विषयमा सहयोग गर्ने तर लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप भए खबरदारी गर्ने उनले स्पष्ट पारे।
भदौ २३ र २४ को आन्दोलनमा परिवर्तनको अपेक्षासहित सहभागी भएका युवाका माग र भावनालाई बुझ्नुपर्ने उल्लेख गर्दै सभापति थापाले उनीहरूसँग संवाद गर्न कांग्रेस इच्छुक रहेको बताए।

प्रतिक्रिया