बीबीसी । यसवर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी प्रजातन्त्रवादी नेतृ मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ ।
उनले पुरस्कार दिन लागिएको खबरले आफू ‘छक्क परेको’ प्रतिक्रिया व्यक्त गरेकी छन् । नर्वेली पुरस्कार समितिले मचाडोलाई ‘आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा’ भन्दै उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो।
आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ । उनी भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय छिन्। गत वर्ष उनलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न रोकिएको थियो। उनी अहिले भूमिगत छिन् ।
मचाडो नोबेल शान्ति पुरस्कार पाउने बीसौँ महिला हुन् । सन् १९०१ देखि अहिलेसम्म १०६ पटक यो पुरस्कार घोषणा भएको छ।
अहिलेसम्म ११२ व्यक्ति र ३१ वटा संस्था पुरस्कृत भएका छन् । मचाडो ५८ वर्षकी भइन्। उनी गत वर्ष अगस्टदेखि हतपत सार्वजनिक स्थानमा उपस्थित भएकी छैनन्।
गत जनवरीमा आयोजित एउटा विरोधप्रदर्शनमा उनी देखा परेकी थिइन्। उनलाई पक्राउ गरेर केही समयपछि छोडिएको थियो।

प्रतिक्रिया