फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


मनीला । दक्षिणी फिलिपिन्सको तट नजिक ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको भू–भौतिक विज्ञान तथा ज्वालामुखी अध्ययन संस्थाका अनुसार, शुक्रबार दावाओ ओरिएन्टल प्रान्तको मनाय नगर नजिक समुद्रको सतहबाट करिब १० किलोमिटर (६ माइल) गहिराइमा भूकम्प आएको हो।

भूकम्पपछि फिलिपिन्स र इन्डोनेसियाले तटीय क्षेत्रका बासिन्दालाई उच्च भूभागतर्फ सुनामीको चेतावनी जारी गरेका छन् ।

संस्थाले ‘सामान्य ज्वारभाटाभन्दा एक मिटरभन्दा बढी उचाइका छालहरू देखा पर्न सक्ने’ भन्दै चेतावनी जारी गरेको छ ।

सुनामीको जोखिम बढेसँगै प्रभावित क्षेत्रका बासिन्दालाई तुरुन्तै उच्च भूभाग वा भित्री भूभागतर्फ सारिन आग्रह गरिएको छ । हालसम्म कुनै मानवीय क्षतिको खबर प्राप्त भएको छैन। अधिकारीहरूले स्थिति निरन्तर निगरानीमा राखेको बताएका छन् ।