श्रीलङ्काका राष्ट्रपतिद्वारा आइएमएफ ‘बेलआउट’ को बचाउ


श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफ्नो पुनः निर्वाचन अभियान सुरु गर्दै मुलुकसँग अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को ‘बेलआउट’ मा सहमत हुनुको कुनै विकल्प नभएको बताएका छन् ।

दुई वर्षअघि अभूतपूर्व आर्थिक सङ्कटका कारण महिनौँसम्म खाद्यान्न र इन्धनको अभाव हुँदा सडकमा भएको विरोध प्रदर्शनले विक्रमासिङ्घेका पूर्ववर्तीलाई छोटो समयका लागि मुलुक छाड्न बाध्य पारेको थियो ।

पचहत्तर वर्षीय राष्ट्रपति विक्रमासिङ्घेले गत वर्ष वार्ता गरेको दुई अर्ब ९० करोड डलरको आइएमएफ उद्धार प्याकेजमा सुधारको आवश्यकता रहेको भन्दै यसलाई लागु गर्नुपर्ने वा ती सङ्घर्षलाई दोहोर्याउने जोखिम मोल्नुपर्ने बताए ।

“आइएमएफ र हाम्रा द्विपक्षीय ऋणदाताहरूसँगको सम्झौता परिवर्तन गर्न सकिँदैन”, सेप्टेम्बर २१ को निर्वाचनअघि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने अभियान कार्यक्रममा उनले भने, “केही उम्मेदवारले पुनः वार्ता गर्न सकिन्छ भनेर सोचेका छन् तर यसले समयको मात्र बर्बादी हुनेछ ।”

उनका प्रमुख प्रतिद्वन्द्वी ५७ वर्षीय विपक्षी नेता साजिथ प्रेमादासा र ५५ वर्षीय मार्क्सवादी नेता अनुरा कुमारा दिसानायकाले सम्झौतालाई पुनः लेख्नका लागि आइएमएफसँग नयाँ सिराबाट वार्ता सुरु गर्ने वाचा गरेका छन् ।

प्रेमादासाले विक्रमासिङ्घेले दोब्बर बनाउनुभएको आयकरमा कटौती गर्ने वाचा गरेका छन् । “हामी आइएमएफ सम्झौताअनुसार वित्तीय अनुशासनलाई बलियो बनाउने छौँ, यद्यपि हामी परिमार्जन गर्नेछौँ”, प्रेमादासाको घोषणापत्रमा भनिएको छ ।

दिसानायकाको पार्टीले राज्यका उद्यमहरूको निजीकरणलाई रोक्ने बताएको छ ।  विक्रमासिङ्घेले आगामी वर्षदेखि मध्यम र निम्न आय भएका समूहहरूको करको भार कम गर्न आइएमएफसँग सहमति भएको बताउनुभयो तर उनले कुनै विवरण दिएनन् ।

सन् २०२२ मा ४६ अर्ब डलरको विदेशी ऋण तिर्न असफल भए पनि श्रीलङ्काले अझै पनि अन्तर्राष्ट्रिय ऋणपत्रधारकहरूसँग वार्ता गरिरहेको छ । सन् २०२२ मा मुलुकको अर्थतन्त्र सात दशमलव तीन प्रतिशतले सङ्कुचित भएको थियो ।

विक्रामसिङ्घेले संसद्मा सबैभन्दा ठूलो पार्टीबाट पनि चुनौतीको सामना गर्नुपरिरहेको छ । उक्त पार्टीले उनलाई सत्तामा आउँदा समर्थन गरेको थियो । यद्यपि उहाँको पूर्ववर्ती परिवारको अहिले पनि धेरै प्रभाव छ ।

सांसद तथा राजापाक्षे वंशका ३८ वर्षीय नमल आगामी महिनाको निर्वाचनमा विक्रमासिङ्घेलाई चुनौती दिने ३८ उम्मेदवारमध्ये एक हुन् ।