दार्चुलाको महाकालीमा मनोविकास अभियान सुरु, तीन हजार नागरिक लाभान्वित हुने अपेक्षा


काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले दार्चुलाको महाकाली नगरपालिकामा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा मनोसामाजिक सहयोग प्रणाली सुदृढ गर्ने उद्देश्यले ‘मनोविकास अभियान’ सुरु गरेको छ।

वर्ल्डलिंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत साइकडेस्क फाउन्डेसन र महाकाली नगरपालिकाको सहकार्यमा अभियान सुरु गरिएको हो। दश महिनासम्म सञ्चालन हुने अभियानबाट करिब तीन हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसरको अध्यक्षता तथा दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता थियो।

कार्यक्रममा वर्ल्डलिंककी संस्थागत सामाजिक उत्तरदायित्व निर्देशक तथा प्रवर्द्धक सेयरधनी अनुपा भण्डारी जालानले मनोविकास अभियान मानसिक स्वास्थ्यसम्बन्धी एकपटकको सचेतना कार्यक्रम मात्र नभई व्यक्ति, परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारलाई जोड्ने दीर्घकालीन प्रयास भएको बताइन्।

उनका अनुसार अभियानले मानसिक स्वास्थ्य समस्याको रोकथाम, प्रारम्भिक पहिचान तथा आवश्यक मनोसामाजिक सहयोगको पहुँच विस्तारसँगै नगरपालिकाको मानसिक स्वास्थ्य नीति निर्माण र सेवा प्रणाली सुदृढीकरणमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

वर्ल्डलिंकले विगत पाँच वर्षदेखि विभिन्न जिल्लामा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। साइकडेस्क फाउन्डेसनसँगको तीनवर्षे साझेदारीअन्तर्गत यसअघि धनगढी, विराटनगर र पोखरामा आत्महत्या रोकथामसम्बन्धी सचेतना तथा ‘साइडवाक टक’ कार्यक्रम सञ्चालन गरिएको थियो। तीनवटै सहरमा तीन–तीन महिनाका दरले कुल नौ महिना कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

एक वर्षअघि दार्चुलाको महाकाली, बैतडीको मेलौली र काठमाडौंको कागेश्वरीमा गरिएको मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनबाट प्राप्त आवश्यकता र सुझावका आधारमा यस वर्षको मनोविकास अभियानको अवधारणा तयार गरिएको हो।

भण्डारी जालानका अनुसार स्थानीयस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी दक्ष जनशक्ति र सेवाको सीमितता तथा नगरपालिकाले देखाएको नेतृत्व, इच्छाशक्ति र सहकार्यको प्रतिबद्धतालाई आधार मानेर महाकाली नगरपालिका छनोट गरिएको हो।

अभियानअन्तर्गत सरकारी विद्यालयका विद्यार्थी र शिक्षकमार्फत विद्यालयदेखि समुदायसम्म मनोसामाजिक सहयोग प्रणाली सुदृढ गरिनेछ। महिला स्वास्थ्य स्वयंसेविकामार्फत वडास्तरमा गर्भावस्था तथा प्रसूतिपछिको मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र सहयोग विस्तार गर्ने योजना छ।

त्यस्तै, इन्टरनेट प्रयोगसँग सम्बन्धित जोखिम तथा अनलाइन सुरक्षाका कारण उत्पन्न हुन सक्ने मानसिक स्वास्थ्य समस्याबारे विद्यार्थीलाई सचेत गराइनेछ। नगरपालिकाको मानसिक स्वास्थ्य नीति निर्माण तथा अनुमोदनमा समेत प्राविधिक सहजीकरण गरिने कम्पनीले जनाएको छ।

कार्यक्रममा वरिष्ठ मनोविद् तथा साइकडेस्क फाउन्डेसनका संस्थापक डा. नरेन्द्रसिंह ठगुन्नाले नगरपालिकाको मानसिक स्वास्थ्य नीतिसम्बन्धी पहिलो चरणको छलफल यसअघि नै सम्पन्न भइसकेको र दोस्रो चरणको छलफलसमेत पूरा भएको जानकारी दिए।

उनले स्थानीय आवश्यकता र परिस्थितिअनुकूल व्यावहारिक मानसिक स्वास्थ्य नीति निर्माणमा अभियानले योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे।

वर्ल्डलिंकले अभियान सञ्चालनमा महाकाली नगरपालिकाको सहकार्य तथा साइकडेस्क फाउन्डेसनको प्राविधिक सहजीकरणप्रति आभार व्यक्त गर्दै समुदायमा आधारित, पहुँचयोग्य र दिगो मानसिक स्वास्थ्य सेवा प्रणाली विकासमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ।