पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) को अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
उनले पार्टी अध्यक्ष पदबाट आफ्नो राजीनामा पिएमएल–एनका सर्वोच्च नेता नवाज सरिफलाई बुझाए । वरिष्ठ राजनीतिज्ञको राजीनामा आएसँगै पिएमएल–एनले नयाँ अध्यक्षको निर्वाचनका लागि मे २८ मा लाहोरमा महासभा बोलाउने निर्णय गरेको छ ।
एआरवाई न्युजका अनुसार पिएमएल–एनले यसअघि मे ११ मा महासभा आयोजना गर्ने घोषणा गरेको थियो । हालै एक पत्रकार सम्मेलनमा राणा सनाउल्लाहले पिएमएल–एनको पञ्जाब च्याप्टरले नवाज सरिफलाई पार्टीको उपलब्धिहरूमा उनको नेतृत्वको महत्वलाई जोड दिँदै पुनः पार्टी अध्यक्षता लिन आग्रह गरेको बताएका थिए ।
पिएमएल–एन पञ्जाब बैठकमा नवाज सरिफसँग यो कठिन समयमा एक पटक पुनः पार्टीको नेतृत्व गर्न आग्रह गर्ने प्रस्ताव पारित भएको उनले जानकारी दिए ।
स्मरणीय छ सन् २०१८ मा दोषी ठहर भएपछि पूर्वप्रधानमन्त्री नवाज सरिफलाई कुनै पनि सार्वजनिक पद धारण गर्न प्रतिबन्ध लगाइएको थियो ।
यद्यपि इस्लामाबाद उच्च अदालतले उनलाई नोभेम्बर २९ मा एभेनफिल्ड र डिसेम्बर १२ मा र अल–अजिजिया सन्दर्भमा सफाइ दिएको थियो । रिहा भएपछि पूर्वप्रधानमन्त्री नवाजले सन् २०२४ को आम निर्वाचनमा भाग लिए र एनए–१३० लाहोरबाट निर्वाचित भएर फर्किएका छन् ।

प्रतिक्रिया