नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ


चितवन। नारायणगढ बजारको आडैमा रहेको नारायणी नदी किनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा हुन फेरि समय लाग्ने भएको छ । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य संघसँगैको नदी तटीय क्षेत्रलाई ‘सिबिच ढाँचा’मा विकास गर्न संघीय सरकारसँग समेत समन्वय गरेर काम गरेको भए पनि बाढीका कारण संरचना जोगाउन नसकिएको हो ।

ठूला दलहरूका सभा सम्मेलन, महोत्सव, ‘कन्सर्ट’देखि साँझबिहानमा नारायणीको चिसो हावासँगै रमाउने र हिँडाइ गर्ने यो स्थललाई सुन्दर बनाउन महानगरले चाहेको थियो । जाडो महिनामा दिउँसोमा समेत यहाँ बसेर रमाउने र तस्विर खिच्नेहरू आउने गर्दछन् । नजिकै नारायणी नदी बगिरहेको छ भने वरिपरिको सुन्दरता मनमोहक छ ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी नदी तटीय क्षेत्रलाई ‘सिबिच’ ढाँचामा विकास गर्न चाहेको भए पनि नदीमा हरेक वर्ष आउने बाढीका कारण सम्भव नभएको बताउँछन् । गत वर्ष अधिकांश संरचना बगाएको थियो भने बाँकी रहेका संरचना सबै बगाएको छ । उनले भने, ‘हामीले संघ र प्रदेशसँग समेत सहकार्य गरेर यसलाई सुन्दर पर्यटकीय गन्तव्य बनाउने योजना बनाएका थियौँ ।’ तत्कालीन नगरप्रमुख रेनु दाहालसहित महानगरपालिका टोलीको आग्रहमा संघीय सरकारले फुटट्रेल, आरसिसी संरचनासहितको पैदलमार्गलगायतका काम गरेको थियो ।

पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पैदलमार्ग (फुटट्रेल) र नारायणी नदी व्यवस्थापन आयोजनाले सिबिच मोडलमा आरसिसी संरचना निर्माण गरेको थियो । भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघले पैदलमार्ग बनाएका थिए । बाढी आउनुअघि सो क्षेत्रमा मोजाइक टायल, दुबो बिछ्याइएको, हरियाली एवं वरिपरि भएका बिरुवाका कारण सुन्दर र मनमोहक बनेको थियो । साँझपख मानिसहरू नारायणी किनारमा घुम्न निस्कने गर्दा छुट्टै चहलपहल हुने गर्थ्यो ।

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजु श्रेष्ठका अनुसार पर्यटन मन्त्रालयले ‘फुटट्रेल’को काम गरेको थियो । पर्यटन मन्त्रालयले २.४ किलोमिटर पैदलमार्ग, पार्किङ र बगैँचा निर्माणका लागि छ करोड ५० लाख रुपैयाँको बोलपत्र आह्वान गरी काम गरेको थियो । यस्तै भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य संघसँग सहकार्य गरेर ९७ लाख रुपैयाँ खर्च गरी पैदलमार्ग बनाएको थियो ।

जोरकुसुम उद्यान क्षेत्रबाहेक अन्यत्र बनाएका ती सबै संरचना बाढीले बगाएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले ११ खुट्किलासहितको ६५० मिटर लामो आरसिसी संरचना बनाएको थियो । हाल नदी क्षेत्रमा सो संरचनामात्र बाँकी छ । ती संरचना २०७९ सालमा १५ करोड ९२ लाख रुपैयाँ खर्च गरी बनाइएको हो । नदीकिनारलाई सुन्दर पर्यटकीयस्थल बनाउन लागिपरेका संघका पूर्वअध्यक्ष श्रेष्ठ चाहेर पनि नदीकिनारलाई सुन्दर बनाउन नसकिएको बताउँछन् । नदीको बीचमा रहेका संरचना हटाएर नदीलाई सहज बग्न दिनुपर्ने उनको भनाइ छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी हरेक दुई वर्षमा संघले महोत्सव गर्नका लागि रु ४० लाख हाराहारी खर्च गरेर नदीकिनार व्यवस्थापन गर्नुपर्ने बाध्यता आएको बताउँछन् । सो क्षेत्रको भाडा भरतपुर महानगरपालिकाले लिने भए पनि काम आफूहरूले समेत गर्नुपरेको उनको भनाइ छ । हरेक वर्षको बाढीले त्यहाँ बनाएका संरचना बगाउने गरेको उनको गुनासो छ । यसलाई दिगो रूपमा संरक्षण गर्न सक्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ ।

रास्वपाका नेतासमेत रहनुभएका संघका पूर्वअध्यक्ष राजन गौतम सो क्षेत्रमा गरिएको लगानी बालुवामा पानी भएको भन्दै कार्यक्रम अन्यत्र गर्ने र नदीलाई आफ्नो धारमा बग्न दिनुपर्ने बताउँछन् । उनले भने, ‘अब हामीले नारायणगढ बजारको चिन्ता लिने हो । हाटबजारझैँ गरिने मेला महोत्सवको चिन्ता लिने होइन ।’

पहिलोपटक नारायणी नदीको बहाव उर्लिएर बजार क्षेत्रमा उक्लिएको छ । यसले नारायणगढ बजारसमेत जोखिममा परेको स्थानीयको बुझाइ छ । लामो समयदेखि नारायणगढमा बसोबास गर्दै आएका प्रभातकुमार जोशी नदीको कटान यसरी नै बढ्दै गएमा नारायणगढ बजार नै जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्छन् । विसं २०१९ देखि नारायणगढ बस्दै आएका जोशीका अनुसार नारायणी किनारको संरक्षणमा सरकारले तत्काल विशेष ध्यान दिनुपर्छ । नदीको उचित संरक्षण नगरेर प्रकृतिलाई जिस्क्याउँदै किनारमै बस्ती विस्तार गरिए नारायणगढ बजारको भविष्य नै खतरामा पर्ने उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्य भोटेकोशी बाढीपछि नदीको सतह बढेर पानीको बहाव बजार क्षेत्रमा पसेको हुनसक्ने बताउँछन् । नदी तटीय क्षेत्रलाई सुन्दर बनाउन फरक ढङ्गले नक्सांकन गरेर काम गर्नुपर्ने देखिएको उनको भनाइ छ । महानगरले नदी तटीय यस क्षेत्रलाई विश्वका सामुद्रिक किनारमाझैँ पर्यटकीय गन्तव्य बनाउन चाहेको भए पनि सम्भव नभएको उनले बताए ।

नारायणी नदीमा ६० वर्षयताको ठूलो बाढी मापन गएको आइतबार भएको छ । देवघाटमा रहेको जलमापन केन्द्रमा बिहान ११ः४० बजे गरिएको मापनमा ११ दशमलव ९३ मिटर पुगेको थियो ।

नारायणी बेसिन कार्यालय चितवनका प्रमुख सुमित अधिकारीका अनुसार यसअघि २०८१ साल असोज १२ गते सो ठाउँमा ११ दशमलव ६ मिटर मापन भएको थियो । उनका अनुसार सन् १९६३ बाट देवघाटमा जलमापन गर्न थालिएको हो । अहिलेसम्मको तथ्यांकमा आइतबारको बाढी ६० वर्षयताको ठूलो हो । यही बाढीका कारण नदी तटीय क्षेत्रमा भएका संरचना बगेका हुन् ।