युक्रेन नजिकै सेनालाई आणविक अभ्यास गर्न पुटिनको आदेश



 

रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पश्चिमी ‘धम्कीहरू’ को सामना गर्दै नयाँ आणविक हतियार अभ्यासको आदेश दिएका छन् ।

उक्त अभ्यास ‘निकट भविष्य’ मा गरिने र यसमा वायुसेना, नौसेना र युक्रेन नजिकै तैनाथ सेना संलग्न हुने रुसको रक्षा मन्त्रालयले बताएको छ ।

फेब्रुअरीमा पुटिनले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा आणविक युद्धको ‘वास्तविक’ जोखिम रहेको चेतावनी दिएर आफ्नो आणविक बयानबाजीलाई बढाएका थिए ।

यसैबीच उक्त अभ्यास युक्रेनमा सेना पठाएकामा पश्चिमी मुलुकहरूको टिप्पणीको जवाफ भएको क्रेमलिनले बताएको छ । रक्षा मन्त्रालयले अभ्यासको उद्देश्य ‘केही पश्चिमी अधिकारीहरूको धम्कीहरू’ को सामना गर्दै रुसी क्षेत्रीय अखण्डता सुनिश्चित गर्नु रहेको बताएको छ ।

“अभ्यासका क्रममा गैर–रणनीतिक आणविक हतियारको तयारी र प्रयोगको अभ्यास गर्न धेरै उपाय गरिनेछ”, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । रणनीतिक आणविक हतियार पनि भनिने गैर–रणनीतिक आणविक हतियार युद्धमैदानमा प्रयोगका लागि डिजाइन गरिएको छ र मिसाइलमार्फत डेलिभर गर्न सकिन्छ ।

युक्रेनसँग जोडिएको र रुसले कब्जा गरेको युक्रेनी क्षेत्र समेटेको दक्षिणी सैन्य जिल्लाका सेनाले अभ्यासमा भाग लिने मन्त्रालयले उल्लेख गरेको छ ।

क्रेमलिनको आणविक बयानबाजीबाट पश्चिमी अधिकारी अत्यधिक चिन्तित भएका छन् । युक्रेनको सीमावर्ती बेलगोरोड क्षेत्रमा अधिकारीहरूले पछिल्ला केही सातामा सबैभन्दा घातक आक्रमणको सूचना दिएपछि यस्तो घोषणा भएको हो । किएभले रुसी आक्रमणका कारण लाखौँ मानिसलाई विद्युत्विहीन बनाएको बताएको छ ।

बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले यस क्षेत्रमा गुडिरहेका दुई भ्यान र यात्रुवाहक कार ‘आत्मघाती युक्रेनी ड्रोन आक्रमण’ मा परेको बताए । “दुर्भाग्यवश विस्फोटका कारण छ जनाको घटनास्थलमै मृत्यु भयो”, उनले भने ।

उनले युक्रेनी सीमाबाट करिब ३० किलोमिटर टाढा बेरोज्योभ्का गाउँ नजिकै भएको आक्रमणमा अन्य ३५ जना घाइते भएको जानकारी दिए । स्थानीय अधिकारीहरूले ती सवारी मासु उत्पादन केन्द्रको भएको बताएका छन् । ग्लाडकोभले घाइतेमध्ये दुई जना बालबालिका रहेको र ‘गम्भीर’ एकजनाको शल्यक्रिया भइरहेको बताए ।

बेलगोरोडमा घातक युक्रेनी ड्रोन र मिसाइल आक्रमणको सङ्ख्या बढिरहेको छ । मस्कोले पूर्वी युक्रेनमा लगातार बढत हासिल गरिरहेको छ र उसले युक्रेनी सीमा क्षेत्रमा हवाई आक्रमण र गोलाबारी बढाएको छ ।

यसैबीच क्रेमलिनले रुसको आगामी आणविक अभ्यास युक्रेनमा नाटो सेना पठाउनेबारे फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनसहितका ‘अभूतपूर्व’ टिप्पणीहरूको प्रतिक्रियाका रूपमा रहेको बताएको छ । राष्ट्रपति पुटिनले आदेश दिनुभएको अभ्यासहरूले ‘निकट भविष्यमा’ अनिर्दिष्ट पश्चिमी ‘धम्की’ को सामना गर्ने रक्षा मन्त्रालयले पहिला नै घोषणा गरेको थियो ।

“हामी श्री म्याक्रोन र बेलायती प्रतिनिधिहरूको बयानहरूका बारेमा कुरा गरिरहेका छौँ भन्ने स्पष्ट छ”, अभ्यास के कारणले उत्प्रेरित थियो भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, “उनीहरूले युक्रेनमा सशस्त्र दल पठाउने तयारी र मनसायबारे कुरा गरिरहेका छन्, त्यो वास्तवमा नाटो सेनालाई रुसी सेनाअघि राख्नु हो, यो बढ्दो तनावको पूर्णरूपमा नयाँ चरण हो, यो अभूतपूर्व छ र यसका लागि विशेष उपायको आवश्यकता छ ।”

म्याक्रोनले गत साता एक अन्तरवार्तामा रुसले युक्रेनको अग्रिम पङ्क्ति तोड्यो भने युक्रेनमा सेना पठाउने सवाल ‘वैधानिकरूपमा’ उठ्ने र किएभले यस्तो अनुरोध गरेको बताएका थिए ।

पुटिनलाई उल्लेख गर्दै उनले भने, “मैले कुनै पनि कुरालाई अस्वीकार गरिरहेको छैन किनकी हामीले यस्तो व्यक्तिको सामना गरिरहेका छौँ जसले कुनै पनि कुरालाई अस्वीकार गर्दैन ।” म्याक्रोनले फेब्रुअरीमा पनि यस्तै प्रकारको टिप्पणी गरिसकेका छन् ।

बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले गत साता एक अन्तरवार्तामा युक्रेनसँग रुसभित्रका लक्ष्यमा आक्रमण गर्ने ‘अधिकार’ रहेको बताएका थिए ।

युक्रेनी सेना रुससँग लड्नका लागि पश्चिमी सैन्य सहायतामा निर्भर छ तर नाटोले युक्रेनमा सेना नपठाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको

गाजामा भएको इजरायली आक्रमणमा २८ जनाको मृत्यु

उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जना व्यक्तिको मृत्यु

नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको