भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा



 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो भारतीय जनता पार्टी (भाजपा) को चुनावी रणनीति सार्वजनिक गर्दै सामाजिक खर्च बढाउने, पूर्वाधार विकास र भारतलाई विश्वव्यापी उत्पादन केन्द्र बनाउने वाचा गरेका  छन्  ।

मोदी तेस्रो पाँच वर्षको कार्यकालका लागि सत्तामा फर्कने आशामा छन् । उनी तथा भाजपाका अन्य नेताहरूले बहुचरणको आम निर्वाचन सुरु हुनु केही दिनअघि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा आफ्ना वाचाहरू सार्वजनिक गरे ।

मोदीले आफ्नो पार्टीको १० वर्षको शासनमा सुरु गरिएका सामाजिक कार्यक्रमहरूलाई विस्तार गर्ने वाचा गरे । यसमा स्वास्थ्य सेवा, खाना पकाउने ग्यास र निःशुल्क अन्नका साथै गरिबहरूका लागि लाखौँ निःशुल्क घरहरू समावेश छन् । उहाँको सरकारले गरिब किसानहरूलाई प्रतिवर्ष छ हजार भारतीय रुपैयाँ (७३ अमेरिकी डलर) प्रदान गरिरहेको छ ।

प्रधानमन्त्री मोदीले सन् २०१४ मा सत्तामा आएपछि आफ्नो सरकारको नीतिहरूले २५ करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको बताए । एक अर्ब ४० करोडभन्दा धेरै जनसङ्ख्या भएको भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक हो । भाजपाका अध्यक्ष जे. पी. नड्डाले एक प्रतिशतभन्दा कम भारतीय जनता अहिले चरम गरिबीमा बाँचिरहेको बताए ।

भारतमा मुलुकका भिन्नाभिन्नै हिस्सामा भिन्नाभिन्नै मितिमा निर्वाचन हुन्छ । निर्वाचन धेरै सातासम्म जारी रहन्छ । मुलुकको संसद्का लागि मतदान अप्रिल १९ देखि सुरु भएर जुन १ सम्म हुनेछ र नतिजा जुन ४ मा घोषणा गरिनेछ ।

अधिकांश सर्वेक्षणहरूले मोदी र भाजपाको जितको भविष्यवाणी गरेका छन् । यद्यपि विपक्षी कांग्रेस पार्टीले मोदीले भारतको लोकतन्त्रलाई कमजोर बनाएको र धनीहरूको हितलाई समर्थन गरेको तर्क दिएको छ ।

मोदीले मुलुकभर व्यापक प्रचार गरिरहेका छन् छ र सन् २०२७ सम्ममा मुलुकको अर्थतन्त्रलाई करिब २७ खर्ब डलरबाट बढाएर ५० खर्ब डलरसम्म पुर्याउने वाचा गरेका छन् । उनले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको एक सय वर्षको खुशीयाली मनाउँदै गर्दा सन् २०४७ सम्ममा भारतलाई विकसित मुलुक बन्ने मार्गमा लैजाने पनि वाचा गरेका छन् ।

उनले  आफ्नो पार्टीले भारतलाई औषधि, ऊर्जा, सेमीकन्डक्टर र पर्यटन उद्योगहरूको केन्द्रका रूपमा विकास गर्ने बताए । भारतले आफ्नो रेलवे, हवाईमार्ग र जलमार्गसहित पूर्वाधारको आधुनिकीकरण गर्ने पनि उनले बताए । साथै उनले युवाहरूका लागि नोकरी बढाउने र युवा उद्यमीहरूका लागि सस्तो ऋणमा पहुँच पुर्याउने उल्लेख गरे । हिन्दूवादी नेताका रूपमा मोदी भारतमा अत्यन्त लोकप्रिय हुनुहुन्छ र उहाँले द्रुत गतिमा आर्थिक विकास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र हमासबीच छिट्टै युद्धविराम हुनेमा इजिप्ट आशावादी

इजिप्टका विदेशमन्त्रीले गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव आउनेमा आफू ’आशावादी’ रहेको बताएका छन्

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि

नैरोबीको उत्तरमा रहेको एउटा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

शाही अपमानका कारण थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

  थाइल्यान्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा