रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाले अमेरिकाका विभिन्न परियोजनामा करिब २०० अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेका छन् । तर, दक्षिण कोरियाले भने उक्त योजनाको एउटा महत्वपूर्ण हिस्सा अलास्कामा ५४ अर्ब डलर लागतको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) पाइपलाइन परियोजना अझै अन्तिम निर्णयमा नपुगेको स्पष्ट पारेको छ।
ह्वाइट हाउसको घोषणाअनुसार यो लगानी गत वर्ष अमेरिकासँग भएको व्यापार सम्झौताअन्तर्गत दक्षिण कोरियाले गर्ने ३५० अर्ब डलरको रणनीतिक लगानी प्याकेजअन्तर्गत सार्वजनिक गरिएको पहिलो ठूलो परियोजना समूह हो।
उक्त प्याकेजमा पानीजहाज निर्माणका लागि १५० अर्ब डलर र रणनीतिक लगानीका लागि २०० अर्ब डलर छुट्याइएको थियो। ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले भने, ‘मेरो प्रशासनले दक्षिण कोरियासँग गरेका सम्झौताका कारण उनीहरूले २०० अर्ब डलरसम्म लगानी गर्नेछन्।’
उनका अनुसार उक्त लगानीअन्तर्गत आठ ठूला आणविक ऊर्जा केन्द्र निर्माण, प्राकृतिक ग्यास पाइपलाइन तथा टेक्ससमा ६ गिगावाट क्षमताको विद्युत् उत्पादन केन्द्र निर्माण गरिनेछ।
नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि ट्रम्पले सार्वजनिक गरिरहेका आर्थिक तथा लगानीसम्बन्धी सम्झौतामध्ये यो पछिल्लो घोषणा हो। इरान युद्ध र पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई लिएर मतदातामा देखिएको चिन्ताबीच ट्रम्प आफ्नो आर्थिक उपलब्धि बलियो रूपमा प्रस्तुत गर्ने प्रयासमा छन्।
अलास्कामा प्रस्तावित पाइपलाइन परियोजनाले राजनीतिक महत्वसमेत राख्न सक्छ। त्यहाँ रिपब्लिकन सिनेटर ड्यान सुलिभान डेमोक्रेटिक उम्मेदवार मेरी पेल्टोलाविरुद्ध प्रतिस्पर्धात्मक पुनःनिर्वाचन दौडमा छन्। सुलिभान घोषणामा सहभागी थिए।
तर, दक्षिण कोरियाली सरकारले भने निश्चित व्यावसायिक तथा कानुनी सर्त पूरा भएमा मात्र पाइपलाइन परियोजना अघि बढ्ने जनाएको छ।
सोलले ट्रम्पको घोषणाका अन्य पक्ष भने पुष्टि गरेको छ। दक्षिण कोरियाले टेक्ससमा कृत्रिम बौद्धिकता (एआई) डाटा सेन्टर सञ्चालनका लागि आवश्यक विद्युत् उत्पादन गर्ने ग्यास परियोजनामा २२.३ अर्ब डलर तथा आठवटा आणविक रिएक्टर निर्माणमा १२० अर्ब डलर लगानी गर्ने जनाएको छ।

प्रतिक्रिया