साइबर आक्रमणमा चीन संलग्न भएको बेलायतको आरोप
बेलायत सरकारले आफ्नो देशका सांसद र निर्वाचन आयोगमाथि ‘दुर्भावनापूर्वक’ भएका साइबर आक्रमणमा चीन संलग्न भएको आरोप लगाएको छ । सरकारले ती साइबर आक्रमणमा संलग्न भएको भन्दै दुई चिनियाँ नागरिक र कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ ।
बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडनले ती व्यक्ति र कम्पनीले बेइजिङको आलोचना गर्दै आएका ब्रिटिश सांसदहरूको विवरणमा अनधिकृत पहुँच स्थापित गर्ने प्रयास गरेको बताएका छन् । सन्दिग्ध साइबर आक्रमणकारीहरूले चार करोड ब्रिटिश मतदातासँग सम्बन्धित डेटामा पहुँच पाएको पनि विश्वास गरिएको छ ।
तर डाउडनले उक्त आक्रमणका कारण चुनावको सुरक्षामा गम्भीर सम्झौता हुने खालको कार्य नभएको बताए । चीनले चाहिँ लगातार जासुसी तथा गलत काम गरेको भन्ने आरोपहरूलाई अस्वीकार गर्दै आएको छ।
बेलायतस्थित चिनियाँ दूतावासले निराधार दाबी गरिएको भन्दै त्यसलाई ‘दुर्भावनापूर्ण लाञ्छना’ को सङ्ज्ञा दिएको छ । ब्रिटेनले प्रतिबन्ध लगाएका दुई चिनियाँ नागरिक चाओ गुआङ्जोङ र नि गाओबिन हुन् भने कम्पनी वुहान श्याओरुइची साइन्स एन्ड टेक्नोलजी हो ।
ब्रिटिश प्रतिबन्धअन्तर्गत ती व्यक्ति तथा कम्पनीको सम्पत्ति रोक्का गरिएको छ। त्यसले गर्दा ब्रिटिश नागरिक वा व्यवसायीहरूले ती चिनियाँहरूको स्रोत र सम्पत्ति कुनै किसिमले पनि उपयोग गर्न पाउँदैनन् । उनीहरूलाई ब्रिटेनको भ्रमण गर्न र ब्रिटेनमा बस्न पनि निषेध गरिएको छ।