कान्दाहारमा भएको आत्मघाती विष्फोटमा कम्तीमा २१ जनाको मृत्यु
बीबीसी । अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । तालिबान सरकारले शहरको केन्द्रको बैंकमा आत्मघाती हमला भएको बताएको छ ।
घटनाको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ । आक्रमणकारीले करीव १५० तालिबान सदस्यहरूको भीडको बीचमा आत्मघाती विस्फोट गराएको प्रहरीले बताएको छ ।
अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो मानिएको यो विष्फोट एउटा बैंकको शाखामा भएको थियो जहाँ अफगान सरकारी कर्मचारीहरू आफ्नो तलब लिन लाइनमा थिए ।
विष्फोटमा परी कम्तीमा ५० जना घाइते भएका छन् । सन् २०२१ मा विदेशी सेनाको पूर्ण फिर्तीसँगै तालिबानले पूर्ण नियन्त्रण प्राप्त गरेपछि अफगानिस्तानको समग्र सुरक्षा स्थितिमा सुधार आएको भए पनि देशमा हरेक वर्ष दर्जनौं बम विस्फोट र आत्मघाती आक्रमणहरू भइरहेका छन् । तिनीहरूमध्ये धेरैले अफगानिस्तानको हजारा जातीय अल्पसंख्यकलाई लक्षित गरेका छन् ।