इजिप्टमा ४३ सयवर्ष पुरानो शव फेला


पुरातत्वविदहरूले इजिप्टमा ४ हजार ३०० वर्षदेखि नखोलिएको एउटा शव बाकसभित्र सुनले मोडिएको एउटा ’ममी’ अर्थात् सुरक्षित राखिएको शव फेला परेको बताएका छन् ।

हेकाशेप्स नामका एक व्यक्तिको उक्त शव अहिलेसम्मकै सबैभन्दा पुरानोमध्ये एक भएको र गैरराजकीय परिवारको झन्डै जस्ताको तस्तै रहेको सग्लो शव भएको बताइएको छ ।

कायरोको दक्षिणमा रहेको सकारा समाधिस्थलमा उक्त शव जमिनभन्दा १५ मिटर तलबाट निकालिएको थियो। त्यहाँ थप तीनवटा अन्य चिहान पनि फेला परेका थिए। एउटा चिहान ‘गोप्य सूचना रक्षक’ भनिने व्यक्तिको छ ।

प्राप्त ममीमध्ये सबभन्दा ठूलो चाहिँ खनम्डजेडेफ नामका व्यक्तिको छ जो पुजारी, निरीक्षक र भारदारहरूका सुपरिवेक्षक थिए । अर्को शव मेरि नामका व्यक्तिको छ जो दरबारका एक वरिष्ठ अधिकारी थिए र उनलाई ‘गोप्य सूचना रक्षक’को उपाधि दिइएको थियो ।

त्यस्तो उपाधि पाएका कारण उनलाई विशेष धार्मिक अनुष्ठानहरू गर्न अनुमति प्राप्त थियो अर्को चिहानमा राखिएका व्यक्ति फेटेक थिए जो न्यायाधीश र लेखक थिए। र त्यहाँ त्यस क्षेत्रमा फेला पारिएकाहरू सबैभन्दा ठूला मूर्तिहरूको संग्रह भेटिएको छ ।

चिहानहरूसँगै माटा भाँडाकुँडा र अन्य वस्तु पनि फेला परेका थिए । पुरातत्वविद तथा इजिप्टका पूर्व पुरातत्त्वमामिला मन्त्री जाही हवासले प्राप्त भएका सबै ईशापूर्व २५ देखि २२ औँ शताब्दीका रहेको बताएका छन् ।

उत्खननमा संलग्न अर्का पुरातत्वविद अलि अबु डेशिशले यो खोज यस्तो महत्वपूर्ण भएको र राजा एवं उनका वरिपरि रहने मानिसहरूको सम्बन्ध पनि झल्काएको बताए ।

सकारा ३ हजार वर्षभन्दा बढी समयसम्म एउटा सक्रिय समाधिस्थल रहेको थियो यो युनेस्कोको विश्व सम्पदा क्षेत्र पनि हो ।

प्राचीन इजिप्टको राजधानी मेमफिस र एक दर्जनभन्दा बढी पिरामिड भएको स्थानमा यो अवस्थित छ ।

अन्वेषण दक्षिणी इजिप्टको शहर लक्सरमा विज्ञहरूले ईशाको दोस्रो र तेस्रो शताब्दीको रोमन युगको एउटा पूर्ण शहरको अवशेष फेला पारेको बताएको केही समयमै घोषणा गरिएको हो ।

पुरातत्त्वविद्हरूले मानिसका घर, टावर र धातुका वर्कशप पनि फेला पारेका छन्। तिनमा भाँडाकुँडा उपकरण र रोमन सिक्का पनि छन् ।