अफ्रिकी–अमेरिकी मूलका जोर्ज फ्लोइडलाई सन् २०२० को मेमा मिनिआपुलिस सहरमा हत्या गरेको आरोप लागेका अमेरिकी पूर्व प्रहरीलाई २२ वर्ष छ महिनाको जेल सजाय सुनाइएको छ ।
४८ वर्षीय फ्लोइडको मृत्यु शोभिनले नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेपछि भएको थियो । उनको हत्याले रङ्गभेद र प्रहरी बर्बरताविरुद्ध विश्वव्यापी प्रदर्शनहरू सिर्जना गरेको थियो । ४५ वर्षीय शोभिन गत महिना सेकेन्ड डिग्री हत्या र अन्य अभियोगमा दोषी ठहरिएका हुन् । सुनुवाइका बेला उनका वकिलले उक्त हत्यालाई ‘राम्रो मनसाय राख्दा भएको गल्ती’ बताएका थिए ।
उनले अब आजीवन हतियार राख्न समेत पाउने छैनन् । उनी र तीन अन्य पूर्व प्रहरीहरूमाथि भिन्दाभिन्दै रूपमा फ्लोइडको नागरिक अधिकारहरूको हनन गरेको अभियोग लगाइएका थिए । फ्लोइडको परिवार र समर्थकहरूले यस फैसलाको स्वागत गरेका छन् ।
फ्लोइडकी बहिनी ब्रिडगेट फ्लोइडले उक्त सजायले ‘अन्ततः प्रहरी बर्बरताका विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको देखाएको’ बताउँदै अझै’अगाडिको बाटो लामो रहेको’ बताएकी छन् ।
राष्ट्रपति जो बाइडनले सजाय ‘उपयुक्तजस्तो देखिएको’ तर आफूलाई सबै कुरा थाहा नभएको स्वीकारेका छन् । सुनुवाइका क्रममा फ्लोइडका भाइ टेरेन्स फ्लोइडले ४० वर्षको सजाय हुनुपर्ने माग गरेका थिए ।
फ्लोइडकी सात वर्षीया छोरी जीआनाले एउटा भिडिओमार्फत आफ्ना बाबुको अभाव महसुस गरिरहेको बताएकी छन् । न्यायाधीशले उक्त मुद्दा फ्लोइडको समुदाय र देशकै लागि र सबैभन्दा बढ्ता फ्लोइडको परिवारका लागि पीडादायी रहेको बताएका छन् ।

प्रतिक्रिया