इजरायली प्रधानमन्त्रीले संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूलाई इरानको खतराबाट ‘ब्युँझन’आह्वान गरेका छन् । इरानको परमाणु कार्यक्रमलाई सीमित तुल्याउन वार्ताहरू चलिरहँदा नाफ्ताली बेनेटले इरान ‘क्रुर रूपमा झुन्ड्याएर मृत्युदण्ड दिने सत्ता’ भएको र उसले परमाणु अस्त्र चाहेको बताए । इरानले त्यस्ता आरोप बारम्बार अस्वीकार गरिरहेको छ ।
कूटनीतिज्ञहरूले राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिका अलग भएको परमाणुसम्बन्धी सम्झौतालाई नवीकरण गर्न प्रगति भइरहेको बताएका छन् तर अझै फरक मतहरू रहेको पनि उल्लेख गरेका छन् । इजरायलले उक्त सम्झौताको विरोध गर्दै आएको छ ।
इरानले देशका अति पुरातनवादी विचार राख्ने सर्वोच्च न्यायाधीश एब्राहिम राइसीलाई नयाँ राष्ट्रपतिका रूपमा शुक्रवार चुनेको थियो । अगस्टमा जिम्मेवारी सम्हाल्ने उनीमाथि अमेरिकी प्रतिबन्ध छ र राजनीतिक बन्दीहरूलाई विगतमा मृत्युदण्ड दिएको आरोप लागेको छ ।
गएको अप्रिल यता संयुक्त राज्य अमेरिका, वेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँग परमाणु अस्त्र सम्झौतालाई पुनः सक्रिय बनाउन वार्ता गरिरहेका छन्। सन् २०१५ मा सम्झौता भएपछि इरानले प्रतिबन्धहरू खुकुलो पारिएका जवाफमा आफ्ना परमाणु गतिविधिलाई केही सीमित तुल्याएको थियो ।
तर अमेरिका एकपक्षीय रूपमा सम्झौताबाट अलग भएपछि इरानले उक्त सम्झौतालाई उल्लङ्घन गरिरहेको छ । इरानका उप विदेशमन्त्री अब्बास आराक्चीले सरकारी टेलिभिजनलाई सम्झौताका पक्षधरहरू पहिलाभन्दा सहमतिको नजिक रहेको बताए पनि बाँकी रहेका विषयमा दूरी कम गर्नु सजिलो नभएको बताए ।
युरोपेली सङ्घका राजदूत एनरिके मोराले प्राविधिक विषयवस्तुमा भएका प्रगतिले राजनीतिक समस्याबारे पनि स्पष्ट अवधारणा बनाउन सजिलो भएको जनाए।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलीभानले प्रतिबन्ध र इरानले जनाउनुपर्ने प्रतिबद्धताका सन्दर्भमा अझै धेरै बाँकी रहेको बताए।

प्रतिक्रिया