एउटा प्रजातिको माछा आश्चर्यजनक रूपमा लामो समय अर्थात् एक शताब्दीसम्मै बाँच्न सक्ने एउटा नयाँ अध्ययनले सङ्केत गरेको छ । कुनै बेला लोप भइसकेको ठानिएको उक्त माछालाई लिभिङ फसिल अर्थात् सजीव जीवावशेष मानिन्छ । सीलक्यान्थ भनिने उक्त माछाको आयु पहिला २० वर्षजति हुने ठानिएको थियो ।
तर नयाँ आकलनअनुसार शार्कजस्तै उक्त जलचर १०० वर्षजति बाँच्ने देखिएको छ । उक्त माछाको आयु निर्धारण गर्न फ्रान्सेली अध्ययनकर्ताहरूले सङ्ग्रहालयमा सङ्कलित कत्लाको अध्ययन गरेका थिए । उक्त माछाले आफ्नो जीवनको मध्यकालको अन्तिमतिर मात्र प्रजनन गर्छ। अनि गर्भधारण गर्ने समय पाँच वर्षसम्म हुन सक्छ ।
बिस्तारै हुर्किने र थोरै सन्तान जन्माउने माछाहरू जलवायु परिवर्तन तथा धेरै माछा मार्ने प्रवृत्तिका कारण लोप हुने खतरामा परेका छन् । फ्रान्सको यूनिभर्सिटी अफ मोङ्पोल्येका डा. ब्रुनो अर्नान्ड सीलक्यान्थको जीवनबारे थाहा पाउँदा संरक्षणका लागि बलियो उपाय अवलम्बन गर्न सकिने बताउँछन् ।
‘संरक्षणका लागि एउटा निकै महत्वपूर्ण ढाँचा भनेको यो प्रजातिका माछाको सङ्ख्या थाहा पाउन सक्नु हो,’ उनले भने । ‘यो नयाँ जानकारीले त्यसमा हाम्रो पहुँच बढाउनेछ।’
सन् १९३८ मा दक्षिण अफ्रिकामा माछा समाउने क्रममा जालमा नपर्दासम्म सीलक्यान्थ लोप भइसकेको ठानिएको थियो । लगत्तै उक्त माछाका दुईवटा समूह अफ्रिकाको पूर्वी तटमा र अर्को इन्डोनेशियाको सुलावेसीमा फेला परे ।
सीलक्यान्थ इन्डोनेशिया र हिन्द महासागरका तटीय क्षेत्रमा पाइन्छ । महादेशहरूको उथलपुथल र डाइनसोरलाई लोप गराउने क्षुद्रग्रहको ठक्कर सहन गर्दै सीलक्थान्थका पूर्वजको उत्पत्ति ४२ करोड वर्षअघि भएको थियो । अफ्रिकी समूहलाई अतिसङ्कटापन्न मानिन्छ। उक्त समूहमा केही सय माछा मात्र जीवित भएको ठानिन्छ । समुद्र काप्चामा बस्ने यी माछा १.८ मिटरसम्म बढ्न र ९० किलोभन्दा बढी तौलका हुन सक्छन् ।
‘सीलक्यान्थहरू सबैभन्दा सुस्त नभए पनि समुद्री माछामध्ये सुस्त जीवनवृत्त भएका माछा हुन्। यिनको समुद्री गहिराइमा हुने शार्क र रफीहरूसँग नजिकको सम्बन्ध हुन्छ,’ फ्रान्सको नोर्थ सी मत्स्य अनुसन्धान एकाइका केलिग महे भन्छन् ।
‘त्यसैले हाम्रा नतिजाले यसबाट आशाभन्दा पनि यिनको अनौठो जीवनवृत्तले यी अझ खतरामा भएको देखाउँछ।’ अबका अध्ययनमा वैज्ञानिकहरूले यिनको वृद्धिदरसँग तापमानको सम्बन्ध हेर्न खोजिरहेका छन् । त्यसबाट जलवायु परिवर्तनको तिनमा कस्तो असर पर्न सक्छ भन्ने थाहा दिनेछ । उक्त अध्ययन ’करन्ट बायोलजी जर्नल’मा प्रकाशित भएको हो ।

प्रतिक्रिया