टर्कीमा समुद्रमा चिप्लो बाक्लो लेदोको विपत्


टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले आफ्नो देशको तटीय भेगलाई त्यहाँको पानीमा बढिरहेको एकखाले समुद्री चिप्लो फोहोरबाट बचाउने वाचा गरेका छन् । बाक्लो, चिप्लो लेदोजस्तो पदार्थ इस्तानबुल नजिकैको मर्मरा सागरमा फैलिरहँदा त्यसले त्यहाँको समुद्री जीव र माछा उद्योगमा असर पुगिरहेको छ ।

विज्ञहरूले प्रदूषण र जलवायु परिवर्तनका कारण त्यसो भइरहेको आरोप लगाएका छन् । राष्ट्रपति एर्दोआनले आफूहरु समुद्रलाई लेदोजन्य विपत्तिबाट बचाउने आशामा रहेको बताएका छन् ।

लेउमा चाहिनेभन्दा बढ्ता पोषणतत्व हुने र त्यसबेलै हुने जल प्रदूषण र तातो मौसमका कारण प्राकृतिक रूपबाट यस्तो हरियो लेदोको विपत्ति निम्तने गरेको बताइन्छ । सन् २००७ मा टर्कीमा पहिलो पटक देखिएको यस्तो प्रभाव ग्रीस नजिकैको एजियन सागरमा समेत देखा परेको थियो ।

टर्कीको पछिल्लो प्रकोप मर्मरा सागरको ठूलो भागमा देखिएको छ जसले कृष्ण सागरदेखि एजियन सागरसम्म जोड्छ । यस प्रकारको इतिहासमै ठूलो प्रकोपका रूपमा विश्वास गरिएको यस घटनाले स्थानीय समुदायहरूमा त्रास सिर्जना गरिरहेको छ ।

राष्ट्रपति एर्दोआनले प्रशोधन नगरिएका फोहोरहरू समुद्रमा फ्याँक्ने काम एवं बढ्दो तापमानले त्यसो भएको भन्दै अधिकारीहरूलाई अनुसन्धानका लागि आह्वान गरेका छन् ।

टर्किस मरीन रिसर्चका प्राध्यापक बेरम अजटर्कले यस्तो समस्या अब इस्तानबुलबाट फ्याँकिएका फोहोर पानीको शुद्धीकरणका लागि ताजा लगानी नगर्दासम्म रहिरहने भन्दै चेतावनी दिएका छन् । टर्कीको सरकारले प्रदूषणको सम्भावित स्रोतबारे अनुसन्धान गर्न ३ सय जनाको एउटा प्रभावशाली टोली खटाएको छ ।