रुसमा घरपालुवा जनावरलाई पनि कोरोना भाइरसविरुद्धको खोप दिन सुरु
रुसका अधिकारीहरूले जनावरहरूलाई कोरोनाभाइरसविरुद्धको खोप दिन थालिएको जनाएका छन् । गत मार्च महिनामा रुसले कोरोनाभाइरसविरुद्ध जनावरलाई दिइने विश्वको पहिलो खोप दर्ता गरेको घोषणा गरेको थियो ।
देशका विभिन्न भेगमा भेटरिनरी क्लिनिकहरूमा खोप दिन सुरु गरिएको पशुस्वास्थ्य सेवाको निगरानी गर्ने निकाय रोस्सेलखोज्नाद्जोरले स्थानीय सञ्चारमाध्यमलाई बताएको छ । उक्त निकायका अनुसार कार्निभ्याक–कोभ खोपप्रति ईयू, आर्जेन्टिना, दक्षिण कोरिया र जापानले चासो देखाएका छन् ।
वैज्ञानिकहरूले हाल मानिसहरूमा उक्त रोग फैलाउन जनावरहरूले खास भूमिका खेलेको भन्ने कुनै प्रमाण नभेटिएको बताएका छन् । तर विश्वभरि विभिन्न प्रजातिका जनावरमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । तिनमा कुकुर, बिराला, चिम्पान्जी र मिङ्क आदि छन् । जनावरलाई दिइने कार्निभ्याक–कोभ लगाएपछि झन्डै छ महिनासम्म प्रतिरक्षा प्रणाली सबल हुने बताइएको छ ।
रोस्सेलखोज्नाद्जोर प्रमुखकी सल्लाहकार जुलिया मेलानोका अनुसार क्लिनिकहरूले उक्त खोपको माग बढेको बताएका छन् । आरआईए समाचारसंस्थाले उनलाई उद्धृत गर्दै खासगरी घरपालुवा जनावर पाल्ने, त्यस्ता जनावरको प्रजनन गराउने र विशेषगरी यात्रा गरिरहने वा आफ्ना जनावरलाई घुमाउने लैजाने मानिसहरूले खोपको खोजी गरेका छन् ।
अमेरिकाको भेटरिनरी औषधि उत्पादक कम्पनी जोइटिसले पनि अर्को खोप विकास गरिरहेको छ । मिङ्क भनिने एक किसिमको अर्धजलचर जीवमा कोभिड–१९ गम्भीर रूपमा देखा परेको छ। उक्त जीव भुवाका लागि पाल्ने गरिन्छ ।
कैयौँ देशहरूले घरमा पालिएको उक्त जनावरमा सङ्क्रमण भएको र गम्भीर बिरामी भएको वा मरेको बताएका छन् । डेनमार्कमा उक्त जनावरमा महामारी नै फैलिएको थियो र त्यहाँ उक्त जनावर पाल्ने कम्पनीहरू सन् २०२२ सम्मका लागि बन्द गरिएका छन् । उक्त जनावरले रूप फेरिएको कोरोनाभाइरस मानिसमा फर्काएको पनि केही घटनाहरू पाइएका छन् ।