ट्रम्पले नयाँ दल नखोल्ने, राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफू सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा आफ्नै पार्टीबाट उम्मेदवार हुनसक्ने बताएका छन् । ह्वाइट हाउसबाट बाहिरिएपछिको पहिलो प्रमुख राजनीतिक सम्बोधनमा उनले त्यस्तो बताएका हुन् ।
उनले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्सलाई फ्लोरिडामा सम्बोधन गर्दै नयाँ पार्टी खोल्ने कुनै योजना नभएको उल्लेख गरे । सीमा सुरक्षा र आप्रवासनबारेको आफ्ना कडा नीति उल्टाउने जो बाइडनको प्रशासनको कडा आलोचक बन्न उनको आग्रह थियो ।
उनले फेरि पनि नोभेम्बरको चुनावको वास्तविक विजेता आफू रहेको दाबी दोहर्याए । ट्रम्पले राष्ट्रपतिको रूपमा बाइडनको पहिलो महिना निकै विध्वंसक रहेको टिप्पणी गरे ।